पहिलो पटक बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक, बर्दियामा सबैभन्दा धेरै



काठमाडौं : सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरूको सूची सार्वजनिक भएको छ ।

१० वर्षे द्वन्द्वकालीन मुद्दा किनारा लगाउन १३ वर्षपछि सरकारद्वारा गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले पहिलो पटक बेपत्ता पारिएका २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको हो ।

बेपत्ता पारिएका व्यक्तिहरुबारे दर्ता भएका उजुरीका आधारमा नाम सार्वजनिक गरिएको आयोगले जनाएको छ । आयोगका अनुसार द्वन्द्वको उद्गमस्थल मानिने रुकुम र रोल्पाबाट भने कम उजुरी परेका छन् ।

रोल्पाबाट ९७ उजुरी छ भने रुकुमबाट ४५ जना बेपत्ता भएको भन्दै उजुरी परेको आयोगले जनाएको छ । राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका मध्ये सबैभन्दा धेरै उजुरी बर्दियाबाट परेको छ । सशस्त्र द्वन्द्वको उद्गमस्थल मानिने रोल्पा र रुकुम पछिको प्रभावित जिल्ला बर्दियालाई मानिन्छ ।

बर्दियाबाट २ सय ५५ जनाले आफन्तको खोजखबर गरिदिन माग गर्दै आयोगमा निवेदन दर्ता गराएका छन् । बर्दियापछि दाङबाट रहेकोे छ । आयोगका अनुसार, दाङबाट १ सय २८ बेपत्ताको सूचीमा छन् । बाँकेबाट १ सय १, कञ्चनपुरबाट ७७, चितवनबाट ५१, गोरखा र नुवाकोटबाट समान ४० र ४० जना बेपत्ता भएको उजुरी परेको छ । काठमाडौंबाट ३२ र कालीकोटबाट २४ जना बेपत्ताको सूचीमा रहेका छन् । बेपत्ता भएको भन्दै आयोगमा उजुरी दिनेको नाम भने गोप्य राखिएको छ ।

बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन आग्रह गरिएको आयोगका सूचना अधिकारी निराजन घिमिरेले जानकारी दिए । त्यसका लागि आयोगको टोल फ्री नं.१६६०-०१-२२१११ मा सम्पर्क गरेर या सिधै पुल्चोकस्थित कर्मचारी सञ्चय कोषको भवनमा रहेको कार्यालयमा गएर सूचना दिने व्यवस्था आयोगले मिलाएको छ ।

आयोगका सूचना अधिकारी घिमिरेका अनुसार प्रमाण उपलब्ध गराउने समय तोकिएको छैन । आफ्नो अनुकूल समयमा त्यस्ता प्रमाणहरू पठाउन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्