प्रदेश २ नाम र राजधानी टुंग्याउन मतदान : ‘जानकी’ अस्वीकृत, ‘मिथिला–भोजपुरा’ का लागि मतदान हुँदै



जनकपुरधाम : प्रदेश दुईको नामका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामकुमार यादवले पेश गरेको ‘जानकी’ अस्वीकृत भएको छ । ‘जानकी’ को लागि जम्मा ३७ मत खसेको छ ।

आज (मंगलबार) दिउँसो शुरु भएको गोप्य मतदानमा नेकपाका सांसदको ३२ सहित अन्य दलका ५ सांसदले ‘जानकी’ मा मतदान गरेको हुन् ।

दुई तिहाईका लागि ७२ मत आवश्यक पर्छ भनेपछि नेकपाले ‘जानकी’ प्रदेश नामाकरणका लागि पेश गरेको प्रस्ताव अस्विकृत भएको मान्न सकिन्छ ।

अब नेपाली कांग्रेसका सांसद नरेश काुमार यादवले पेश गरेको ‘मिथिला–भोजपुरा’को लागि मतदान हुनेछ । मतदान केही बेरमा शुरु हुँदैछ ।

प्रदेशका चार दलले चार वटा प्रस्ताव पेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेशको नाम ‘जानकी’, नेपाली कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तापक्षका केही सांसदहरुले ‘मध्य मधेश’ र सत्तारुढ समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा)ले ‘मधेश’ राख्नुपर्ने भनेर प्रस्ताव पेश गरेका छन् ।

प्रदेश २ मा कुल १ सय ७ सांसद छन् । सत्ताको नेतृत्व गरिरहेका समाजवादी पार्टीको ३० राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको २५, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ३२, अर्को प्रतिपक्षी नेपाली कांग्रेसको १९ र संघीय समावादीको एक सिट छ ।

प्रतिक्रिया दिनुहोस्