मृतक परिवारलाई वडाअध्यक्षको राहत



जनकपुरधाम : अवैध घरेलु मदिरा सेवनका कारण मृत्यु भएकाहरुको परिवारलाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष जानकिराम साहले राहत वितरण गरेका छन् ।

वडाअध्यक्ष साहले एक साता अगाडि विषाक्त मदिरा सेवनका कारण ज्यान गुमाएका सात जना मृतकका परिवारलाई राहत रकम उपलब्ध गराएका हुन् । वडाअध्यक्ष साहसहितको टोलीले मृतकका परिवारलाई भेटेर प्रति मृतक परिवारलाई २५ किलो चामल, २५ किलो आलु, नून, साडी, धोती र नगद २ हजार ५ सयका दरले तत्कालका लागि सहयोग गरेको हो ।

राहत वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष साहले मृतक परिवारलाई यो राहत तत्कालका लागि आफुहरुले मिलेर उपलब्ध गराएको र थप सहयोगका लागि उपमहानगर र प्रदेश सरकारसँग पनि आफुले समन्वय गरिरहेको बताए । उनले अब उपरान्त मदिरा सेवन नगर्न मुसहरी टोलका सबैलाई आग्रह समेत गरे ।

अवैध मदिरा सेवनका कारण जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मा फागुन २९ गतेदेखि चैत ४ गतेसम्मको अवधिमा मिथिला सदा, झगरु सदा, बनारसी देवी सदा, जितेन्द्र सदा, दिनेश सदा, रामोदेवी सदा र रामरती देवी सदा लगायत ७ जनाको मृत्यु भइसकेको छ ।

मृतक परिवारमध्येका एकजनाले भने,‘हामी अहिले धेरै दुःखको घडीमा छौं । हामी मध्येका अधिकांश व्यक्तिले आफ्नो परिवारको अभिभावकलाई नै गुमाएपछि हाम्रो घर परिवारका सदस्यलाई हेर्ने कोही छैन । तर, यस्तो संकटको समयमा पनि जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह अहिलेसम्म हामीलाई एकचोटी हेर्न समेत आएका छैनन् ।’ के हामी यस उपमहानरका नागरिक छैनौं ? उनको प्रश्न छ ।

राहत वितरण कार्यक्रममा वडाअध्यक्ष साहसँगै वडासदस्यहरु नाजिर हुसैन, संतोष सरवरिया, रामराजी देवी दास लगायतकाहरुको समेत उपस्थिति रहेको थियो ।

धनुषामा फागुनको अन्त्यदेखि चैतको पहिलो हप्तासम्मा अवैध मदिरा सेवनका कारण २२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्