दुर्घटना न्यूनिकरण गर्न प्रदेश २ का आठ जिल्लामा टाईम कार्ड लागू



जनकपुरधाम : ट्राफिक प्रहरीले सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले आज (शुक्रबार) बाट प्रदेश २ का आठवटै जिल्लामा यात्रुबाहक सवारी साधनहरुमा टाईम कार्ड लागू गरेको छ ।

गति नियन्त्रण र सवारी दुर्घटनालाई न्यूनिकरण गर्न यात्रुबाहक सवारी साधनहरुमा टाईम कार्ड लागू गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख परशुराम घिमिरेले बताए । टाईम कार्ड लागू भएपछि समयभन्दा अगावै सवारी साधन तोकिएको स्थानमा आइपुगेमा कारवाही गरिने उनले बताए । टाईम काड लागु भएपछि दुर्घटनासमेत न्यूनिकरण हुने चालकहरु भनाई छ ।

मिथिला नगरपालिका १० लालगढमा प्रदेश २ भएर चल्ने लामो तथा छोटो दुरीका सार्वजनिक यात्रुवाहक र सवारी साधनका चालकहरुलाई एक साथ लागू हुने गरि टाईम कार्ड, सडक सरसफाइ अभियानको लागि डस्टबिन र सवारी चालक ड्रेस समेत वितरण गरिएको हो ।

तीव्र गतिकै कारण अधिकांश दुर्घटना हुने गरेकाले त्यस्ता सवारीसाधनको गतिमाथि नियन्त्रण गर्न प्रदेश २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराले टाइम कार्डको प्रावधान ल्याएको प्रदेश २ का ट्राफिक प्रहरी प्रमुख श्याम कुशवाहाले बताए । प्रदेश २ को आठवटै जिल्लामा शुक्रबार ट्राफिक प्रहरीले छुट्टाछुट्टै कार्यक्रम गरी टाइम कार्ड लागू गरेको छ ।

तिव्र गतिको सवारी साधनको गति नियन्त्रण गर्नको लागि राडरगनको प्रयोग गर्दै आएको भएता पनि त्यो प्रभावकारी नभएपछि टाईम कार्ड लागु गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

टाइम कार्डको दूरी र समय

आजदेखि लागू गरिएको टाईम कार्डको हिसाबले सप्तरीको भारदहदेखि शम्भुनाथसम्म ३२ किलोमिटरको दूरी ४२ मिनेटमा, शम्भुनाथदेखि सिरहाको लहानसम्मको दूरी २५ किलोमिटर ३३ मिनेटमा, लहानदेखि बन्दीपुरसम्म ४० किलोमिटरको दूरीलाई पार गर्न ५२ मिनेटको समय तोकिएको छ ।

त्यस्तै बन्दीपुरदेखि धनुषाको लालगढसम्म २९ किलोमिटरको दूरी ३८ मिनेट, लालगढदेखि सर्लाहीको कर्मैया ५० किलोमिटरको दूरी १ घण्टा, कर्मैयादेखि बाराको निजगढसम्म ३१ किलोमिटरको दूरी ४५ मिनेट, निजगढदेखि पथलैया २१ किलोमिटरको दूरी ३० मिनेट र पथलैयादेखि अमलेखगञ्ज ८ किलोमिटरको दूरी १२ मिनेटमा सवारीसाधनले पार गर्नुपर्ने तालिक निर्धारण गरिएको हो । यस्तै धनुषाको ललागढदेखि सिन्धुलीको भिमानसम्म २२ किलोमिटरको दूरी ३५ मिनेट निर्धारण गरिएको छ ।

तिव्रगतिमा गाडी चलाउन नपाउने र सवारीसाधन चलाउँदा मोबाइल प्रयोग नर्गन, सीटभन्दा बढी यात्रु नबोक्न, सडकमा जथाभावी पार्किङ्ग नगर्न, जथाभावी ओभरटेक नगर्न, अनिवार्य बिलबुक तथा लाइसेन्स लिएर सवारी चलाउन सवारीधनीहरुलाई ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्