धादिङमा २ दिनमा ३ जनाको रहस्यमय मृत्यु



काठमाडौं : धादिङको सिद्धलेक गाउँपालिकाको नलाङ आप्रिछाप ऐंसेलुगैरामा २ दिनमा ३ जनाको रहस्यमय मृत्यु भएको छ ।

दुई दिनको अन्तरालमा मृत्यु भएका तीनै जनाको शव पोस्टमार्टमपछि शुक्रवार धादिङबेंसी पुछारबजारस्थित थोपल खोलामा दाहसंस्कार गरिएको छ ।

बुधबार राति १२ बजेतिर ऐंसेलुगैराकी ७२ वर्षिय लालबहादुर नेपाली र ३५ वर्षिय सुन्तली नेपालीे आ-आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए । शुक्रबार बिहान सोही ठाउँकी ६३ वर्षिय यमकुमारी अर्याल पनि मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार तीनै जनाको मृत्यु कुनै महामारीका कारण भने भएको होइन । बुधबार राति मृत्यु भएका २ जनाको घरेलु मदिरा सेवनका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जानकारी दिएको छ । दुवैजनाले एकै स्थानबाट लगिएको रक्सी सेवन गरेर सुतेकाले सोही रक्सीको कारण मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यस्तै शुक्रवार विहान मृत भेटिएकी यम कुमारी अर्याल लामो समयदेखि दम र प्रेसरको बिरामी भएकाले नियमित औषधि खाइरहेको परिवारले जनाएको छ ।

पछिल्लो एक महिनादेखि औषधि खान छाडेकाले सोही कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । एउटै गाउँमा दुई दिनको फरकमा तीन जनाको मृत्यु भएपछि गाउँपालिकाले उक्त क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरी कुनै महामारीजन्य समस्या भए÷नभएबारे खोजी गरेको सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्