कोरोना भाइरस : काठमाडौंका सांसदहरूको भेला



काठमाडौं : संघीय संसद प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने काठमाडौं उपत्यकाका सांसदहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारको आग्रह कार्यान्वयन गर्न अपिल गरेका छन् ।

शनिबार काठमाडौंको मण्डिखाटारमा एक सांसदको घरमा भएको भेलामा नागरिकले उच्च सतर्कता अपनाउनुपर्ने र त्यसका लागि सरकारले भनेका विषयहरुको पूर्ण रुपमा कार्यान्वयन गर्न आग्रह गरेको हो । भेलापछि पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद माधवकुमार नेपालले कोरोना भाइरसबाट पर्न सक्ने खतरा, सरकारले चालेका कदमहरु, जनतामा जगाउनुपर्ने जनचेतना र भाइरसको संक्रमण भएमा नियन्त्रण गर्न अपनाउनुपर्ने विषयमा छलफल भएको बताए ।

उनले जनताका समस्याहरु र आर्थिक क्षेत्रमा परेको असरको विषयमा सरकारलाई जानकारी गराउने विषयमा समेत छलफल भएको बताए ।

नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले गरिरहेको कामहरुमा अझ केही प्रभावकारी बनाउनु आग्रह गर्ने विषयमा छलफल भएको पनि बताए । नेपाल भारत सीमा नाका बन्द गर्ने, अस्पतालहरुको तयारीका लागि सरकारले गरेको निर्णयको तत्काल कार्यान्वयन गर्न आग्रह गर्ने विषयमा छलफल भएको थापाले बताए ।

छलफलमा सांसदहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले निर्वाह गरेको भूमिका चित्तबुझ्दो नभएको बताएका थिए । नागरिकमाथि जनचेतना फैलाउन स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएको र राजनीतिक दलहरुले उनीहरुलाई सघाउने विषयमासमेत छलफल भएको थियो ।

सांसदहरुले कोरोनाको संक्रमणको जोखिम बढ्दै जाँदा अर्थतन्त्रमा देखिने जटिलताका विषयमा सरकारले अहिले देखि नै सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्