वीरगन्जमा नामको लागि मात्र क्वारेन्टाइन, चाउचाउ र पानी खाएर रात बिताउँदै भारतबाट फर्केका नेपाल विद्यार्थी



वीरगन्ज : वीरगन्जको मुख्य नाकामा ५० शय्याको क्वारेन्टाइन स्थापना गरिएको छ । तर त्यसको उचित व्यवस्थापन भने अहिले सम्म गरिएको छैन ।

वीरगन्ज महानगरपालिका र जिल्ला दैविय प्रकोपकार उद्दार समन्वय समिति पर्साले नाका नजिकै छपकैयामा रहेको नेपाल आयुर्वेद मेडिकल कलेज एण्ड टिचिंङ्ग हस्पिटलमा ५० शय्याको क्वारेन्टाईन स्थापना गरेको हो ।

क्वारेन्टाइन संचालनको जिम्मा भने नेपाली सेनालाई दिएको छ ।

क्वारेन्टाइन स्थापना गरिएपनि त्यसको उचित व्यवस्थापन सम्बन्धीत निकायले अहिलेसम्म गर्न सकेको छैन । कोरोनाभाइरस संक्रमणको आशंका लागेमा वा पुष्टि भएमा उपचारका लागि राख्नको लागि नाकामै क्वारेन्टाइनको स्थापना गरिएको हो । दिनरात सेना खटेर हस्पिटलको दोश्रो तल्लमा वेड, ओछ्यानहरु मिलाई सकेका छन । तर त्यसको लागि आवश्यक उपकरण तथा दैनिक उपभोग्य गर्ने समाग्रीहरुको अहिले सम्म व्यवस्थापन गरिएको छैन ।

वेड मात्र तयार गरिएको छ, न त खानाको व्यवस्था मिलाईएको छ, न त औषधीकै प्रबन्ध मिलाईएको छ, नामको लागि मात्र क्वारेन्टाइन राखिएको सहज रुपमा देख्न सकिन्छ । आईतबार भारतको विभिन्न शहरबाट आएका विद्यार्थीहरुलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको थियो ।

१९ जनाको संख्यामा रहेको विद्यार्थीलाई न त खानाको व्यवस्था मिलाईएको थियो न त कुनै औषधी वा दैनिक उपभोग हुने बस्तुकै व्यवस्था मिलाईएको थियो । उनीहरु रातीमा चाउचाउ, विस्कुट र पानी खाएर रात विताउँनु परेको थियो । सेल्फ क्वारेन्टाइनमा बस्ने गरी आज विहान सम्बन्धीत अभिभावकहरुको जिम्मा लगाईएको थियो ।

क्वारेन्टाइनमा खटिएका सेनाका एकजना अधिकृतले भने, हाम्रो जिम्मा वेड मिलाउँने थियो, हामीले सम्पूर्ण वेड मिलाई सकेको छौ, तर अन्य व्यवस्था भने अहिलेसम्म हुन सकेको छैन । आज बिहान प्रमुख जिल्ला अधिकारी, मेयर, प्रहरी प्रमुख, सेना प्रमुख लगायतका अधिकारीहरु अनुगमन गरेर गएका छन खै अब के हुन्छ हेरौं, उलने भने ।

छिमेकी भारतमा कोरोना भाईरस तिव्र रुपमा फैलिएको छ । अहिले पनि नियन्त्रण हुन सकेको छैन् । त्यहाँको सरकारले कोरोनाबाट जोगिनको लागि देशभरी नै लक डाउँन गरेको छ । छिमेकी राष्ट्रहरुबाट सम्भावित संक्रमण नेपालमा नफैलिन दिनको लागि नाकामै क्वारेन्टाइन स्थापना गरिएको छ ।

स्थापना गरिएको क्वोरन्टाइनको प्रत्येक वेडमा औषधी, तौलिया, चप्पल, साबुन, मन्जन, ब्रस, मास्क लगायत दैनिक उपभोग्य गर्ने वस्तुहरु राखिएको छैन् । २४ घण्टा नर्स तथा चिकित्सकहरुको उपस्थित हुनुपर्ने तर त्यसको समेत अहिलेसम्म व्यवस्था मिलाईएको छैन ।

भारतीय नागरिक तथा भारतमा रहेका नेपाल नागरिक नेपाल प्रवेश गरे लगतै नाकामै राखेर कडाईका साथ चेकजाँच गर्ने उदेश्यले क्वारेन्टाइनको स्थापना गरिएको हो । भारतीय नागरिकलाई क्वारेन्टाइनमै उपचार गरिने व्यवस्था मिलाईएको छ भने, नेपाली नागरिकको हकमा पूर्णविवरण लिई सेल्फ क्वारेन्टाइन बस्नेगरी अभिभावकको जिम्मा लगाउँने व्यवस्था मिलाईएको छ ।

क्वारेन्टाइन अवस्था र व्यवस्थापनमा किन ढिलाई भएको बारे जानकारी लिन महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी र सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत संग फोन सम्पर्क गर्दा निरन्तर घण्टी गएपनि फोन उठाएनन् ।

बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर थप वीरगन्जको नारायणी अस्पतालमा ५ शय्या, नेशनल मेडिकल कलेजमा ५० शैया र बयोधा हस्पिटलमा ४ शैयाको आइसोलेशन वार्ड तयारी गरेर राखिएको छ । नेशनल मेडिकल कलेज र बयोधा हस्पिटलमा स्थापना गरिएको आइसोलेशन वार्ड सुविधा सम्पन्न रहेको छ भने, नारायणी अस्पतालमा स्थापना गरिएको आइसोलेशन वार्ड अहिले सम्म व्यवस्थीत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्