कोरोना संक्रमित युवाले दिएका थिए होटलमा पार्टी



काठमाडौं : कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएका तेस्रो व्यक्तिले नेपाल आएपछि काठमाडौंको एक होटलमा साथिहरुलाई पार्टी दिएको रहस्य सार्वजनिक भएको छ ।

चैत ६ गते एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट राति १० बजेर ९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

नेपाल आएपछि काठमाडौंमा रहेका साथिहरुलाई होटलमा बोलाएर जमघट गर्नुका साथै पार्टी समेत गरेका थिए । चैत ६ गते नेपाल आएका उनी १० गते अस्पताल पुगेका थिए । अस्पताल भर्ना भएको दुई दिनपछि आर्थत आज (बुधबार) उनी कोरोना संक्रमण भएको पुष्टि भएको हो । नेपालमा कोरोना संक्रमण हुने उनी तेस्रो व्यक्ति हुन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार सो अवधिमा उनले धेरै मानिसहरुसँग भेटघाट गरेका छन् ।

कोरोनाको संक्रमण देखिएपछि हाल उनको टेकु अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । ३२ वर्षीय उनी नेपाल आएको पाँचौँ दिनमा मात्र स्वास्थ्यमा असहजता भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेका थिए ।

उनी बसेको होटलका नाम गोप्य राखेको छ भने ती युवाका परिवार, उनी बसेको होटल, त्यहाँ रहेका र भेटेका व्यक्तिको खोजी गरी जाँच गरिने बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले नियमित पत्रकार सम्मेलनमा बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्