के पाउँछिन् कुन्नी ? (गजल)



कोमल दिल यो चोरेर, के पाउँछिन् कुन्नी ?

गन्तव्य अन्यत्रै मोडेर, के पाउँछिन् कुन्नी ?

नौनी झै कोमल मुटु पारी छिया छिया 

तिखा नजरले घोचेर, के पाउँछिन् कुन्नी ?

उनिकै दरवार अगाडि सधैं कुरि बसेछु म

अग्लो पर्खालले छेकेर, के पाउँछिन् कुन्नी ?

उमेर हुँदा खेरि त स्याल पनि घोर्ले हुन्छ, 

बैंशको नशामा मातेर , के पाउँछिन् कुन्नी ?

म पनि सजाउथेँ मेरै मनको दरवारमा, 

सपनीमा रानी बनेर के पाउँछिन् कुन्नी ?

पक्षताप गर्न पनि समय रहेन आज, 

खै अँजुली थापी मागेर, के पाउँछिन् कुन्नी ?

दलदलमा फस्यौ ,के ती आँखा फुटेका थिए 

अनुहार छोपी रोएर, के पाउँछिन् कुन्नी ?

– माधव पौडेल (असल यात्री)

प्रतिक्रिया दिनुहोस्