कोरोना भाइरस : अमेरिकामा अचानक बढ्यो बेरोजगारी, अर्थव्यवस्था संकटमा



एजेन्सी : कोरोना भाइरसको संकटका कारण अमेरिकामा बेरोजगारीको संख्या अचानक बढ्न थालेको छ । अमेरिकामा पछिल्ला केही हप्तामा नै तीस लाख भन्दा बढी व्यक्तिहरुले आफूलाई बेरोजगारीको सूचीमा सूचीकृत गराएका छन् ।

अमेरिकाको श्रम विभागको तथ्याकंले सबैलाई आश्चर्यमा पारेको छ किनकी यसअघि यति ठूलो संख्यामा बेरोजगारी कहिल्यै पनि बढेको थिएन । यसअघि यति ठूलो संख्यामा मानिसहरुले बेरोजगारी भत्ता र अन्य सूविधाको लागि कहिल्यै पनि आवेदन दिएका थिएनन् ।

यसभन्दा अगाडि सन् १९८२ मा सबैभन्दा बढी बेरोजगारी संख्यामा वृद्धि चएको थियो । उक्त समयमा ६ लाख ९५ हजार व्यक्तिले बेरोजगारीको सूचीका लागि आवेदन दिएका थिए ।

यद्यपि, बुधबार मध्यरातमा अमेरिकी संसदले अहिले सम्मकै सबैभन्दा ठूलो राहत प्याकेज माथिल्लो सदनबाट पारित गरिसकेको छ । जसमा दुई ट्रिलियन डलर रहेको छ ।

यसै वर्ष फेब्रअरी ४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा भाषणमा भनेका थिए , ‘रोजगारी बढिरहेको छ । गरिबी घटिरहेको छ । साथै, अपराधमा पनि कमि आएको छ । मानिसहरुमा आत्मविश्वास पैदा भइरहेको छ । र अब देश समृद्धितिर अगाडि बढ्दैछ ।’

राष्ट्रपति ट्रम्प अमेरिकाको २१.४४ ट्रिलियन डलरको अर्थव्यवस्थाबाट निकै उत्साहित थिए । यसैबीच चीनमा फैलिएको कोरोना भाइरसबाट चीनमा ५०० जनाको मृत्यु भइसकेको थियो । भने हजारौँमा संक्रमण देखिएको थियो । र अमेरिकामा भाइरसको संक्रमण देखिन सुरु भएको थिएन ।

उक्त समयमा अमेरिकी सेयर बजारमा नयाँ उचाई थपिएको थियो । बेरोजगारी दर पनि ५० वर्षकै कम ३.६ प्रतिशत थियो । अमेरिकाले चीनसँग लाभदायी दुई सय अर्ब डलरको सम्झौता पनि गरेको थियो । र बौद्धिक सम्पदा कानुन पनि मजबुत बताएको थियो ।

तर, अचानक डेढ महिनापछि अमेरिकाको अवस्था निकै फरक भइदियो । अमेरिकामा १०५० भन्दा बढी व्यक्तिहरुको कोरोनाभाइरसबाट मृत्यु भइसकेको छ भने ७० हजारभन्दा बढीमा संक्रमण फैलिइसकेको छ । यो संख्या अझै बढ्ने निश्चित छ ।

अर्थव्यवस्थामा भयानक असर पर्ने सम्भावना

व्यापार, व्यवसाय, स्कुल, खेलकुद जस्ता सम्पूर्ण संस्थाहरु बन्द भइसकेका छन् । आर्थिक गतिविधिमा पनि लगाम लागिसकेको छ । स्टक मार्केक पनि निकै नाजुक अवस्थामा पुगिसकेको छ । उडान तथा रेल सेवा सबै बन्द छन् ।

अमेरिकामा ‘अर्थव्यवस्थामा नोक्सान’, ‘अर्थव्यवस्था धराशायी भयो’ जस्ता विचारहरु व्यक्त हुन थालेका छन् । लगानीकर्ता रे डेलीयोले सीएनबीसीसँगको एक अन्तरवार्तामा भनेका छन्, ‘जे भइरहेको छ, यस्तो हाम्रो जीवनमा कहिल्यै पनि भएको थिएन । यो महासंकटको समय हो ।’

रे डेलीयोका अनुसार कोरोना भाइरसका कारण अमेरिकाको करीब चार ट्रिलियन डलर नोक्सान हुने आशंका गरिएको छ । भने हजारौं मानिसहरु बर्बाद हुन सक्ने सम्भावना छ ।

जब वेभसाइट करियर बिल्डरले २०१७ मा गरेको सर्बेका अनुसार ७८ प्रतिशत अमेरिकी कामदार हरेक महिना पाउने पे–चेकमा निर्भर छन् । हरेक चार जनामा एक जनाले महिनामा कुनै पनि प्रकारको बचत गर्दैन ।

उक्त सर्वेका अनुसार करिब चार जनामा तीन जना कामदार ऋणमा डुबेका छन् । आधाभन्दा बढी मानिसहरु दैनिक ज्यालामजदुरीमा आफ्ना आवश्यकता पूरा गर्नको लागि दुईभन्दा बढी काम गर्छन् ।

तर, ठूला वित्तिय संस्थान तथा बैंकहरुको अनुसार अर्थव्यवस्थामा पर्ने सम्भावित असर निकै भयानक हुनसक्छ ।

डुब्दैछ अर्थव्यवस्था
गोल्गम्यान स्याक्सले अर्थव्यवस्थामा आउन सक्ने मन्दीको अनुमान लगाएका छन् । पहिलो एक चौथाई जीडीपीमा ६ प्रतिशत गिरावट हुने र दोस्रो चौथाईमा २४ प्रतिशत बढी गिरावटा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्