कसरी हुन्छ कोरोना भाइरसको परीक्षण ?



काठमाडौं : विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरसको परीक्षण कसरी हुन्छ रु भन्ने जिज्ञाशा पनि यतिवेला सबैमा उत्पन्न गराइदिएको छ । कोरोना संक्रमण भए–नभएको परीक्षणबाट मात्र यकिन गर्न सकिन्छ । त्यसका लागि कोरोना टेस्ट किटको माध्यमबाट यसको संक्रमण भए–नभएको हेर्ने गरिन्छ ।

विश्वका धेरै देशले कोरोना भाइरसको परीक्षणका लागि ‘रियल टाइम पोलिमेरेज चेन रिएक्सन’ ९पिसिआर०को प्रयोग गरेका छन् । भाइरस पत्ता लगाउने पोलिमेरेज चेन रिएक्सन विधि सन् १९८० पत्ता लागेको थियो । आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिको डिएनए पत्ता लगाउनदेखि फलफूलमा भाइरस रहे–नरहेको हेर्नसमेत यो विधि अपनाइन्छ ।

पिसिआर परीक्षणका लागि प्रिमियर प्राब्स रिएजेन्टको आवश्यकता पर्छ । रिएजेन्ट भनेको रासायनिक प्रतिक्रिया गराउने पदार्थ हो, यसै रियाक्सनको आधारमा परीक्षणको नतिजा सकारात्मक वा नकारात्मक पाइन्छ ।

परीक्षण सुरु गर्नुअघि भाइरसमा हुने आरएनए जेनेटिक म्याटेरियल डिएनएमा परिवर्तन हुनुपर्छ । त्यसका लागि एक प्रक्रिया अपनाइएको हुन्छ । कोरोना भाइरसमा हुने जेनेटिक म्याटेरियल आरएनए हो । त्यसैले यसलाई आरएनए भाइरस पनि भनिन्छ ।

सुरुमा संक्रमणको आशंका गरिएको मानिसको घाँटीबाट स्वाब अर्थात् र्‍यालको नमुना निकालिन्छ । यसलाई नमूना संकलन पनि भनिन्छ । स्वाब अथवा नमुनालाई उच्चसुरक्षाका साथ परीक्षण ल्याबमा ल्याइन्छ । त्यसपछि नमुनालाई टेस्ट ट्युबमा राखिन्छ ।

अनि भाइरसको आरएनएलाई डिएनएमा परिवर्तन गरिन्छ । त्यसका लागि एक किसिमको इन्जाइमको प्रयोग गरिन्छ, यो प्रक्रियालाई रिभर्स ट्रान्सक्रिप्सन भनिन्छ । त्यसपछि, प्रोब्स र प्रिमियर रिएजेन्टलाई ट्युबमा राखिन्छ, जसले डिएनएको कुनै एक भागको खोजी गर्छ ।

यदि रिएजेन्टबाट डिएनएमा खोजी गरिएको भाग भेटियो भने रिएजेन्टले त्यो भागलाई परिवर्तन गर्दै लगातार वृद्धि गर्छ, त्यसक्रममा त्यहाँ प्रकाश चम्किन्छ । डिएनएको भाग परिवर्तन हुने प्रक्रियालाई ‘जिन तारिगेटङ’ पनि भनिन्छ ।

परीक्षणकै लागि राखिएको एक किसिमको मेसिनमा प्रकाश कति पटक अथवा कति धेरै चम्कियो भनेर मापन हुन्छ । यदि त्यहाँ धेरै मात्रामा प्रकाश उत्पन्न भएको छ भने त्यो नतिजा सकारात्मक देखिन्छ अर्थात् संक्रमितमा कोरोना भाइरस रहेको पुष्टि हुन्छ ।

यदि प्रकाश थोरै मात्र उत्पन्न भएको छ भने नतिजा नकारात्मक हुन्छ । अर्थात् उक्त नमुना लिइएको व्यक्तिमा कोरोना संक्रमण नभएको पुष्टि हुन्छ । यो सबै प्रक्रिया परीक्षण मेसिनभित्र टेस्ट ट्युबमा राखिएको सानो उपकरणमा सम्पन्न हुन्छ ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्