कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गरिन्छ : मुख्यमन्त्री पौडेल



हेटौँडा : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोही भोकै नपर्ने, कोही भोकै नमर्ने अवस्था सिर्जना गर्ने बताएका छन । प्रदेशवासीका नाममा आज एक सन्देश जरी गर्दै मुख्यमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको लकडाउन लम्बिने अवस्था आए आर्थिक अवस्था कमजोर भएका गरिब, ज्यालादारी गरेर जीविका चलाउने तथा अशक्त नागरिकका लागि विशेष व्यवस्था गरेर भए पनि खाद्यवस्तुको अभाव हुन नदिने बताए ।

उहाँले मानव जातिकै लागि चुनौतीका रूपमा विकसित हुँदै गएको कोभिड–१९ को सङ्क्रमण आक्रामक हुँदै विश्वव्यापी बनिरहेको बेला प्रदेशवासी तथा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा यसको सङ्क्रमणबाट बच्न आधिकारिक व्यक्ति तथा संस्थामार्फत प्राप्त सल्लाहअनुसार विशेष सावधानी अपनाउन अनुरोध गरे ।

“यो हेलचेक्र्याईं र लापर्वाही गर्ने समय हुँदै होइन, यतिखेर हामी एक व्यक्तिले गर्ने गल्तीले हाम्रा प्राणभन्दा प्यारा आमा बुबा, छोरा छोरी, श्रीमान् श्रीमती, दाजुभाइ दिदीबहिनी हुँदै सिङ्गो समाजलाई मृत्युको मुखमा पु¥याउन सक्छ । यतिखेर यस राक्षसी भाइरसका कारण संसारभर सन्त्रास छाएको छ । संसारका अधिकांश देशका नागरिकहरु आफूलाई सुरक्षित राख्न घरभित्र बसेका छन् । हामीले पनि कोरोनाविरुद्धको लडार्इंमा घरभित्रै बसेर राज्यलाई सहयोग गर्नुछ”, मुख्यमन्त्री पौडेलले सन्देशमार्फत भनेका छन ।

पौडेलले अत्यावश्यकबाहेक घरबाहिर हिँडडुल तथा आवतजावत नगरी घरमै सुरक्षित रूपमा रहेर सम्भावित महामारीलाई नियन्त्रण गर्न सकारात्मक भूमिका खेल्ने प्रदेशवासीप्रति सम्मान व्यक्त गर्दै लकडाउनको पालना नगर्ने केही व्यक्तिलाई जिम्मेवार भई लकडाउनको पूर्ण पालनागरी घरभित्रै बसिदिन आग्रहसमेत गरे ।

“हरेक दृष्टिकोणबाट सम्पन्न र अतिविकसित तर सबै सुविधा सम्पन्न देशलाई समेत हम्मेहम्मे पारेको भाइरस नेपालमा समेत तीनजनामा देखा परिसकेको अवस्थामा त्यसलाई फैलिन नदिन नेपाल सरकार, वाग्मती प्रदेश सरकार तथा स्थानीय तहहरु लागेका बेला हामी सबै नागरिकको समेत साथ र सहयोग आवश्यक छ । साथै यस्तो बेला सरकारको निर्णय कार्यान्वयनमा दत्तचित्त भई लागेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा चिकित्सक एवं स्वास्थ्यकर्मीप्रति हार्दिक धन्यवादसहित कर्तव्यपथमा निरन्तर लागिरहन अनुरोध गर्दछु”, सन्देशमा उनले भनेका छन ।

परिस्थितिको गाम्भीर्यता हेरेर सरकारले अझै कडा र प्रभावकारी कदम चाल्न सक्ने भएकाले सजग हुनसमेत उनले अनुरोध गरेका छन । लकडाउन लम्बिने अवस्था वा अन्य अवस्थामा खाद्य सामग्री, औषधोपचार, इन्धनलगायतको अत्यावश्यक सामग्रीको अभाव हुन नदिन प्रदेश सरकारले विशेष पहल गरी ‘कोही भोकै नपर्ने, कोही भोकै नमर्ने’ अवस्था सिर्जना गरिने उनले सन्देशमा बताएका छन ।

लकडाउनका बेला शहरी क्षेत्रका बजारमा निश्चित समयमा भीडभाड र तँछाडमछाडको अवस्था देखिनुले लकडाउनको उद्देश्य र प्रभावकारितालाई शून्यमा झार्न सक्ने भन्दै मुख्यमन्त्री पौडेलले अत्यावश्यक सामग्री किन्न जाँदासमेत भीड नहुनेगरी र एक्लै जान तथा एक पटक जाँदा केही दिनलाई पुग्नेगरी सामग्री ल्याउन र त्यसरी जाँदासमेत विशेष सावधानी अपनाउन अनुरोध गरेका छन ।

पौडेलले गाउँघरमा रहेका किसानलाई सामाजिक दूरी कायम गरेर खेतबारीको काम गर्न सल्लाह दिएका छन । पौडेलले यस्तो बेला आफू पनि कसैको घरमा पाहुना लाग्न नजान र अरुलाई पनि नबोलाउन अनुरोध गरेका छन ।

सन्देशमार्फत पौडेलले गाउँघरमा नयाँ मानिस वा भारतलगायत अन्य देशबाट आएका व्यक्तिका बारेमा स्थानीय जनप्रतिनिधि, वडाध्यक्ष, पालिकाका अध्यक्ष वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि अनुरोध गरेका छन ।

“प्रदेश सरकारको तर्फबाट म प्रदेशभरका ११९ वटा स्थानीय तह, एक हजार १२१ वटा वडा र त्यहाँ रहनुभएका २३८ प्रमुख÷उपप्रमुख र पाँच हजार ६०५ वडाध्यक्षसहित स्थानीय जनप्रतिनिधिलाई आग्रह गर्न चाहन्छु, संवेदनशील भएर आफ्नो क्षेत्रको अवस्था अनुगमन गरौँ, जोखिम उत्पन्न हुनसक्ने अवस्थामा प्रहरी प्रशासनसमेतको सहयोगमा समस्या समाधान गरौँ ।

विदेशबाट आएकालाई सेल्फ क्वारेन्टाइनमा राखौँ वा त्यसबाट जोखिम बढ्न सक्ने अवस्था भए सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखौँ”, उनले भनेका छन ।

अन्तर्राष्ट्रिय सङ्कटको यो घडीमा हरेक व्यक्तिले व्यक्तिगत उत्तरदायित्व वहन गर्नु नै राष्ट्रप्रतिको सच्चा सेवा तथा मानवीय मूल्य र मान्यता हुने मुख्यमन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्