फिल्डमा खटिएका ट्राफिकलाई मास्क र स्यानिटाइजर वितरण



काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैँ स्यानिटाइजर उत्पादन गरेर ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरूलाई महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मास्क तथा स्यानिटाइजर वितरण गरेका छन् ।

विश्वव्यापी रूपमा फैलिइरहेको कोभिड–१९ संक्रमणका कारण बजारमा स्यानिटाइजर अभाव देखिएपछि विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार तयार पारिएको स्यानिटाइजर तथा मास्क वितरण गरिएको हो ।

कोरोनाको उच्च जोखिम मोलेर फ्रन्टलाइनमा दैनिक खटिनुपर्ने ट्राफिक प्रहरीको सुरक्षाका लागि महाशाखाले प्राविधिकहरूको सहयोग लिएर आफैँ स्यानिटाइजर उत्पादन गरेको हो ।

पहिलो चरणमा महाशाखाले ३० लिटर स्यानिटाइजर उत्पादन गरेको छ । महाशाखाले आवश्यकताअनुसार स्यानिटाइजर तथा मास्क उत्पादन गर्ने जनाएको  छ । नेपाल सरकारद्वारा कोरोना रोकथामका लागि गरिएको लकडाउनलाई कार्यान्वयन गराउन ट्राफिक प्रहरी फ्रन्टलाइनमा रहेर काम गरिरहेको छ । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्