सङ्क्रमणबाट जोगिन गाउँ नै एकान्त…



जाजरकोट : कोरोना भाइरसको जोखिमका कारण जारी लकडाउनका समयमा विभिन्न सहरबाट गाउँ जानेको सङ्ख्या बढिरहेको छ । अहिले अधिकांश मानिस गाउँ नै ताकिरहेका छन् । भेरी नगरपालिका–३ का खड्क थापा लकडाउनको समय शुरु हुनेबित्तिकै हतार–हतार परिवारसहित गाउँको घर पुगे ।

नलगाड नगरपालिका–४ निवासी थापा लामो समयपछि घरका आफन्तसँग भेटघाट पनि भएको बताउछन । सदरमुकाममा व्यापार गर्दै आएका थापालाई लकडाउनले नै घरका आफन्त भेट्ने समय जुराएको छ । उनीजस्तै विगत चार वर्षदेखि वीरेन्द्रनगर सुर्खेत बस्दै आएका जुनिचाँदे गाउँपालिका–६ का प्रभात खड्का परिवारसहित गाउँ पुगेका छन् । उनले पाँच जनाको परिवार लिएर १२ चैतमा उहाँ गाउँ पुगेको बताउँदै भने, “वीरेन्द्रनगरमा हो–हल्ला र धेरै जनसम्पर्क हुने भएकाले एकान्तका लागि गाउँ आएको हुँ, यहाँ आएदेखि कसैसँग पनि भेट भएको छैन, फोनमा हालखबर बुझ्नेसम्मका काम भएका छन् ।”

नलगाड बहुमुखी क्याम्पस नलगाड नगरपालिका दल्लीका प्रमुख कालीबहादुर पुन क्याम्पस बन्द भएपछि घर मात्र बसेका छैनन । उनले घरका सबै परिवार जम्म गरेर ८५ रोपनीमा लगाएको प्याजखेती गोडमेलमा लागेको तस्वीर सामाजिक सञ्जालमा सार्वजानिक गरेका छन । उनले लेखेका छन, “अग्र्यानिक खेतीको गोडमेलसँगै सबै परिवारसँग भेटघाट भएको छ, एकापसमा आपसी सम्बन्ध प्रगाढ हुनुका साथै माया, ममता थपिएको छ ।”

सदरमुकाम र मुख्य शहरमा सुरक्षा निकायको बाक्लो उपस्थिति मात्र देखिन्छ भने सर्वसाधारण गाउँमा पुगेको जनाउ दिइरहेका छन् । गाउँमा भारतबाट कमाई गरी फर्केकाको निगरानी तथा सूचना दिने काम व्यापक भएको छ । बाख्रा, भैँसी, गाई, गोरुलगायतका पशुचौपायसमेतलाई घरमै घाँस खुवाएर र केहीले जङ्गलमा लिएर आहारा उपलब्ध गराएको जानकारी आइरहेका छन् । स्थानीय सरकारले वडा तहमै कोरोना जोखिमबाट जोगिनका लागि समिति गठनपछि निगरानीसमेत व्यापक बनाएको छ ।

शुक्रबार मात्र जाजरकोटमा अलपत्र परेका डोल्पाका १४० भन्दा बढी सर्वसाधारणलाई सुरक्षित तरिकाले डोल्पा पठाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनका अनुसार ७० भन्दा बढी जाजरकोट आएर होम क्वारेन्टाइनमा राखिएको छ ।

डोल्पाबाट पढ्न गएका र अन्य कामका लागि जिल्ला बाहिर बस्दै आएका सयौँ मानिस घर पुगेको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

गाउँ–गाउँमा माइकिङ

स्थानीय सरकारले वडा–वडामा भारतबाट आएका मानिसको सूचना दिन माइकिङ जारी राखेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए । वडाध्यक्षको संयोजकत्वमा समिति गठन गरी माइकिङमार्फत कोरोनाबाट जोगिन र जोगाउन प्रचारप्रसारलाई तीव्रता दिइएको छ । जुनिचाँदे गाउँपालिकामा औषधि अभाव भएकाले त्यसतर्फ स्वास्थ्य सेवा कार्यालयबाट औषधि पठाएको छ । बारेकोट गाउँपालिकाका स्वास्थ्यकर्मी गाउँगाउँमा माइकिङ गरिरहेका छन् ।

रुकुमपश्चिमका सबै स्थानीय तहले जिल्लाका सबै स्थानीय तहमार्फत विदेशबाट आएकाको लगत सङ्कलन कार्य जारी राखेको आठबिसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताए । चौरजहारी नगरपालिकाले दैनिक स्वास्थ्य जाँच भएको तथ्याङ्क सार्वजानिक गर्दै आएको छ ।

जाजरकोट, रुकुमपश्चिम र सल्यानका लागि कर्णाली प्रदेश सरकारले चौरजहारीस्थित चौरजहारी सामुदायिक अस्पताललाई कोरोना सङ्क्रमित भएका बिरामीको उपचारका लागि स्थान तोकेको छ । सो ठाउँमा सरकारले रु ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।

स्वास्थ्यकर्मीले बनाए सुरक्षा उपकरण

स्वास्थ्य सेवा कार्यालय डोल्पाका स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा उपकरण आफैँ बनाएका छन् । बिरामीलाइ उपचारका क्रममा सुरक्षित रहन प्लाष्टिकका व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) निर्माण गरेका हुन् । कोरोना भाइरसले देश लकडाउन भएको र स्वास्थ्य विभागले व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) समयमा उपलब्ध नगराएपछि जिल्ला अस्पतालका चिकित्सकहरुले बजारकै प्लाष्टिकबाट आफैँ निर्माण गरेर प्रयोगमा ल्याएको प्रमुख जिल्ला अधिकारी सुनारले जानकारी दिए ।

उनका अनुसार चिकित्सकले व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) बनाएर नमूना जिल्ला प्रशासनमा पठाएको र अब बजारबाट प्लाष्ट्रिक किनेर नेपाली सेनाले सिलाएको बताए । पहिलोपटक चिकित्सकले व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) पाँच थान निर्माण गरेर प्रयोग गरेका छन् तर कति प्रभावकारी भन्नेबारे भने भन्न नसकिने स्वास्थ्य सेवा कार्यालयका डा सिजन रावलले जानकारी दिए । रावलले भने, “आपतकालीन बेलामा यतिसम्म भए पनि सुरक्षित हुनेछन् नहुनुभन्दा थोरै भए पनि सुरक्षाको अनुभूति हुनेछ माथिबाट सरकारले उपलब्ध गराउने बेलासम्म यिनै उपकरण प्रयोग गर्ने तयारीमा छौँ ।”

बिरामीको चाप बढदो छ, औषधि केही मात्रै छ, जनशक्तिको अभाव रहेको छ, चिकित्सक छन् तर स्टाफ नर्सको कमी रहेको डा सिजन रावलले दुखेसो पोखे । उनले थपे, “हामीसँग जनशक्ति थोरै छ, उपकरण पनि छैनन् विद्युत्को समस्या छ निकै दुःखदायी अवस्थामा काम गरिरहेका छौँ ।”

व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) कम्तीमा पनि १५ देखि २० थानसम्म निर्माण गरेर अस्पताल, आइसोलेसन कक्ष र क्वारेन्टाइनमा खटिने सबै स्वास्थ्यकर्मीलाई प्रयोग गर्न लगाई उपचारमा खटाइने डा रावलले बताए । यतिबेला जिल्ला अस्पतालमा ग्लोब्स, माक्स, बुटलगायतका सामग्रीको भने मौज्दात निकै कम छ जोखिममा स्वास्थ्यकर्मीले काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्