कतार एयरवेज र एअर अरेबियाको विमानमा नेपाल आएकालाई सम्पर्कमा आउन प्रहरीको आग्रह



काठमाडौं : नेपाल प्रहरीले विदेशबाट फर्किएका नेपालीहरुमा कोरोनाभाइरस (कोभिड–१९)को संक्रमण देखापर्न थालेपछि विदेशबाट आउने सबैलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

चैत ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको संक्रमण देखापरेसँगै नेपाल प्रहरीले सो विमानमा नेपाल आउने नागरिकलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

त्यसोत नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरू मध्ये आफै सम्पर्कमा आउनेहरु कम रहेको र धेरैको पहिचान हुन नसकेको बताए ।

चैत ४ गते फ्रान्सबाट कतारको दोेहा हुदै काठमाडौँ आएकी १९ वर्षीय युवती र आज (शनिवार) कोरोना संक्रमणको पुष्टि गरिएकी बागलुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हँुदै नेपाल आएकी थिइन् ।

कतार एयरवेजको क्युआर ६५२ विमान चढेर काठमाडौं आएकी युवती विमानमा सवार १ सय ५८ यात्रुमध्ये १ सय ३४ जनाले आफूहरु ‘सेल्फ क्वारेन्टाइन’ मा रहेको सूचना प्रहरीलाई दिएको प्रवक्ता जोशीले बताए ।

सोही विमानमा सवार पाँच विदेशी नागरिकसहित २४ जना कहाँ छन् भन्नबारे खोजी भइरहेको उनले बताए ।

‘राहदानीका आधारमा जिल्ला गाँउको पहिचान गरी स्थानीय प्रहरीलाई तत्काल खोजी गर्न निर्देशन दिएका छौं’ उनले भने ।

हालसम्म फेला परेको कोरोना संक्रमित पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन् । उनीहरूसँगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका चितपरिचित र आफन्त सबैलाई सम्पर्कमा आइ दिन प्रहरीले आग्रह गरेको छ ।

कतार एयरको क्यूएआर ६५२ विमानमा सवार १ सय ५८ मध्ये १ सय ९ जना ४० जिल्लाका नागरिक रहेका छन् । ती मध्ये एक फ्रेन्च, दुई जर्मनी र दुई भारतीय नागरिक पनि सम्पर्कमा आएका छन् भने २४ नेपाली कहाँ कस्तो अवस्थामा बसेका छन् खोजी भइरहेको प्रवक्ता जोशीले बताए ।

यसैगरी तेस्रो संक्रमित व्यक्ति सवार एअर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका १ सय ७० जना यात्रुको पनि खोजी जारी राखिएको उनले बताए ।

सो कार्यमा प्रहरीको केन्द्रीय हेल्थ हेल्प डेस्क नै परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्