प्रदेश २ मा २ सय ३२ जना क्वारेन्टाइनमा, परिक्षण किटको अभाव



जनकपुरधाम : नेपालभरी कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ५ पुगी सकेको छ । यता प्रदेश दुईमा भाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा राख्नेहरुको संख्या समेत बढ्दै गइरहेको छ । प्रदेश दुईमा कोरोना भाइरस संक्रमणको आशंकामा २ सय ३२ जना शंकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।

भारत तथा तेस्रो देशबाट फर्केर नेपाल आएका २३२ जना शंकास्पदलाई प्रदेश २ को विभिन्न जिल्लास्थित क्वारेन्टाइनमा राखिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ६५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमणकै आशंकामा रौतहटबाट तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयले जनाएको छ ।

रौतहटको चन्द्रनगर नगरपालिकास्थित चन्द्रपुर हस्पिटल प्रालिमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए ।

सप्तरीस्थित विभिन्न क्वारेन्टाइनमा १२२ र सिरहामा १५ जना तथा ६ जना होम क्वारेन्टाइनमा रहेको झाले बताए । धनुषाको नगराईन नगरपालिकाको गंगुलीस्थित क्वारेन्टाइनमा ११ जना र होम क्वारेन्टाइनमा २ जना रहेको उनले जानकारी दिए । निर्देशनालयको अनुसार महोत्तरीमा रहेको क्वारेन्टाइनमा अहिलेसम्म कसैलाई राखिएको छैन ।

सर्लाहीमा दुईजना क्वारेन्टाइन र १९ जना होम क्वारेन्टाइनमा र पर्सामा १५ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको निर्देशनालयले जनाएको छ । बारामा १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ भने बाराको कलैयास्थित अस्पतालमा भर्ना भएका तीनजनाको स्वाब परीक्षणको लागि काठमाडौं पठाइएको छ ।

रौतहट र बाराका ६ जनाको स्वाब परीक्षणका लागि शुक्रबारै काठमाडौं पठाइए पनि हालसम्म रिपोर्ट आइनसकेको निर्देशनालयले जनाएको छ । प्रदेश २ मा हालसम्म कुनै शंकास्पदमा पोजिटिभ नदेखिएको निर्देशनालयले जनाएको छ ।

क्वारेन्टाइनमा शंकास्पदहरु भर्ना गरिएपनि प्रदेश २ मा हालसम्म परीक्षणको लागि आवश्यक किटको अझै अभाव रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्