सरुवा रोग विशेषज्ञले गरे दाबी, कोरोनाले अमेरिकामा १ लाखभन्दा बढीको ज्यान जाने



एजेन्सी : अमेरिकी वरिष्ठ सरुवा रोग विशेषज्ञले नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण अमेरिकामा एक लाखभन्दा बढीको मृत्यु हुनसक्ने दाबी गरेका छन्।

अमेरिकी कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत रहेका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फउसीले उक्त दाबी गरेको अमेरिकी समाचार संस्था सिएनएनले जनाएको छ।

यसअघि नै अमेरिकी विज्ञहरुले अमेरिकाभर कोभिड–१९ संक्रमितको संख्या २० लाखभन्दा बढी पुग्ने अनुमान गरिसकेका छन्।

‘अहिले जति–जति नमुना ल्याइन्छ, त्यति नै खराब केस देखिएका छन्, कतिपय राम्रा केस पनि पाइन्छन्। सामान्यतः वास्तविकता चाहिँ बीचमा हुन्छ। यस्ता खालको रोगको नमुना मैले यसअघि देखेको थिइनँ, जहाँ यति खराब नतिजा आइरहेका छन्,’ डा. एन्थोनीले भनेका छन्। उनले अमेरिकामा कोभिड–१९ बारे सिएनएनले लिएको अन्तर्वार्तामा उक्त कुरा बताएका हुन्।

‘मेरो आशय के हो भने हामीले अहिले के–कस्तो अवस्था भोगिरहेका छौं भन्ने तपाईंहरु सबै जानकार हुनुहुन्छ। कोभिड–१९ ले अमेरिकामा करिब १ देखि २ लाखको बीचमा मृत्यु हुनसक्छ, तर, म त्यस्तो नहोस् भन्ने चाहन्छु,’ उनले सिएनएनलाई भने। कोभिड–१९ ले अमेरिकामा लाखौंमा संक्रमण फैलाउनसक्ने उनको अनुमान छ।

पछिल्ला दुई दिनमा कोभिड–१९ ले २ हजारभन्दा बढीको मृत्यु भइसकेको अवस्थामा डा। एन्थोनीले यस्तो प्रक्षेपण गरेका हुन्। आइतबारसम्ममा अमेरिकामा विश्वकै सबैभन्दा बढी १ लाख २१ हजार कोरोना संक्रमण देखिएको छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ पत्रकार सम्मेलनमा बोल्दै अहिलेसम्म संक्रमणको नमुना हेर्दा अमेरिकामा कोभिड–१९ ले १ देखि २ लाखसम्म व्यक्तिको ज्यान लिनसक्ने आँकलन गरेका छन्। ट्रम्पले कोभिड–१९ विरुद्ध आफ्नो सरकारले राम्रो काम गरेको दाबीसमेत गरे। ट्रम्पले अर्को एक महिनासम्म राष्ट्रव्यापी सोसल डिस्टेन्सिङको अवधि लम्ब्याउने उल्लेख गरे।

डा. एन्थोनी र ह्वाइटहाउसका कोरोना भाइरस रेस्पोन्स संयोजक डा। डेबोरा बिर्सले सोसल डिस्टेन्सिङ मापदण्डको बारेमा समर्थन जनाउँदै सचेतना नअपनाए अमेरिकामा कोभिड–१९ ठूलो जनधनको क्षति पुग्ने प्रिजेन्टेसन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्