स्वस्थ हुनुहुन्छ ? बिरामीको छेउ जानुभएको छैन ? मास्क लगाउनुपर्दैन



एजेन्सी : स्वस्थ तथा बिरामीसँग टाढै रहने व्यक्तिले मास्क लगाउन नपर्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ। विश्व स्वास्थ्य संगठनका अधिकारीले सोमबार मास्क उचित तरिकाले नलगाउँदा उल्टै स्वास्थ्य समस्या आउन सक्ने भन्दै सजग गराएका सिएनएनले जनाएको छ।

‘कोरोना भाइरस संक्रमण नभएको व्यक्ति तथा बिरामी व्यक्तिको रेखदेख नगर्ने व्यक्तिले मास्क लगाउनु आवश्यक छैन,’ डब्लुएचओले सोमबार जानकारी दिएको छ। मास्क सफा नगरीकन जथाभावी प्रयोग गर्दा उल्टै कोरोना भाइरसको जोखिम रहने भन्दै डब्लुएचओले सचेत रहन आग्रह गरेको छ।

‘आममानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण भेटिएको छैन, तर, यदि मास्क सही तरिकाले लगाइएन भन्ने त्यसले पार्ने असर स्पष्ट देखिएको छ,’ डब्लुएचओको स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा। माइक ¥यानले सोमबार स्वीट्जरल्यान्डको जेनेभामा आयोजित मिडिया ब्रिफिङमा भने। उनले विश्वभरि मास्क र मेडिकल सामग्री अभाव रहेको उल्लेख गर्दै भने, ‘कारोना संक्रमति बिरामीसँग नजिक रहेर काम गर्ने बिरामी मात्र अहिले बढी जोखिममा छन्, अरु आममानिसका लागि मास्क अनिवार्य चाहिँदैन।’

डब्लुएचओकी सरुवा रोग विशेषज्ञ डा. मारिया भान केर्खोभले स्वास्थ्यकर्मीलाइ सबैभन्दा बढी मास्क चाहिने स्पष्ट पारिन्। ‘बिरामी नहुन्जेलसम्म मास्क प्रयोग गर्नका लागि समुदायका मानिसलाई सल्लाह गर्दैनौं,’ उनले भनिन्। यदि कसैले सरसफाइ नगरीकन एउटै मास्क पटकपटक प्रयोग गरेमा उल्टै संक्रमण बढ्ने उनको सुझाव थियो।

प्रतिक्रिया दिनुहोस्