सीमा नाका नखोलिने



काठमाडौं : सरकारले लकडाउनको बेला बन्द भएको सीमा नाका नखोल्ने जनाएको छ । भारतबाट नेपाल प्रबेश गर्न खोज्नेहरु सीमा नाकामै अलपत्र परिरहेका बेला सरकारले सीमा नाका बन्द रहने जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले लकडाउनका बेला सीमा नाका नखोलिने बताए । सरकारले कुटनीतिक पहल गरेर जुन व्यक्ति जुन देशमा छन सोही देशको सरकारले उनीहरुको व्यवस्थापन गर्ने सहमती भएको छ ।

‘कुटनीतिक पहल गरेर सरकारले लकडाउनको बेला सीमा नाका नखोल्ने निष्कर्षमा पुगेको हो’ भट्टराईले भने, ‘भारतमा हुने नेपालीको भारत सरकारले र नेपालमा हुने भारतीयहरुको नेपाल सरकारले नै व्यवस्थापन गर्ने सहमती भएको छ ।’

यस अघि कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सीमामा आवतजावत बन्द गरिएपछि नेपाल–भारत नाकामा अलपत्र परेका नेपालीहरूलाई एक पटकका लागि देशभित्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

सोही अनुसार ११ चैतमा एक पटकका लागि सीमा नाकामा रहेका नेपालीहरु नेपाल प्रबेश गरेका थिए । तर अझै हजारौ नेपाली सीमा नाकामै अलपत्र परेका छन् । अलपत्र परेका ति नेपालीहरुलाई सीमानामै राख्ने र उनीहरुको खानपान लगायतको व्यवस्थापन गरिने सरकारको तयारी रहेको छ ।

लकडाउनका बेला सीमा नाका नखोल्ने प्रधानमन्त्री स्तरबाट भएको निर्णय अनुसार अब नेपालमा रहेका भारतीयहरुको नेपाल सरकारले सम्पुर्ण व्यवस्थापन गर्नेछ । त्यस्तै भारतमा रहेका नेपालीहरुको खानपान लगायत सम्पुर्ण कुराको व्यवस्थापन भारतीय सरकारले गर्ने बताईएको छ ।

नेपाल प्रबेश गर्न खोज्ने नेपाली र सुरक्षाकर्मीका बीचमा यस अघि झडप समेत भएकाले सरकारले एक पटकका लागि नेपाल प्रबेश गराएको थियो । त्यसरी प्रबेश गर्ने नेपालीहरु अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने व्यवस्था अनुसार उनीहरु अहिले क्वारेन्टाइनमै रहेका शिक्षामन्त्री गिरिराजमणी पोखरेलले बताए ।

नेपालको पूर्व र पश्चिमका नाकाहरुमा कतिपय नेपालीहरु भारतबाट फर्किन खोज्दा अलपत्र परे पनि उनीहरुका लागि सीमा नाकामै खानपान सहितको व्यवस्थापन गरिने भएको छ ।

पश्चिमी नेपालको सीमा नाकामा रहेका नेपालीहरुको खानपान लगायतको व्यवस्थापन भारतीय सरकारले गरिरहेको र अन्यत्र पनि सोहीअनुसार व्यवस्थापन गरिने भट्टराईले जनाए ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिने उदेश्यले नेपाल सरकारले २५ चैतसम्म लकडाउन गरेको छ । बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध लडनका लागि बिभिन्न देशका सरकार जुटेका छन् । नेपाल, भारत सहित बिभिन्न देशमा अहिले लकडाउन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्