भारतमा सुदूरपश्चिमका २ जनालाई कोरोना संक्रमण भएको पुष्टि



नयाँदिल्ली : कामको सिलसिलामा भारतमा बस्दै आएको एक नेपाली दम्पतीमा कोरोना संक्रमण भएको खुलेको छ ।

दक्षिण भारतको बेंग्लोरमा बस्दै आएको एक नेपाली परिवारका ४५ वर्षिय पुरुष र ३५ वर्षिय महिलामा कोभिड-१९ पुष्टि भएको हो ।

नेपालको बझाङ घर भएको त्यो दम्पतीमध्ये पहिले श्रीमतीमा दुई साताअघि कोरोना संक्रमण देखिएको थियो । उनी एक भारतीय परिवारमा घरेलु कामदारका रुपमा कार्यरत थिइन् । त्यो परिवारकी एक महिला सदस्य गत १२ मार्चमा लण्डनबाट बेंग्लोर आएकी थिइन् ।

दुई दिन घरमा बसेकी उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि स्वास्थ्य परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उक्त भारतीय परिवारको घरमा काम गर्नेहरु सबैलाई बेंग्लोरकै भिक्टोरिया अस्पतालमा आइसोलेसनमा राखेर स्वास्थ्य परीक्षण गरियो ।

दुई दिनपछि अएको स्वास्थ्य परीक्षण रिपोर्टमा ती नेपाली महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । ती नेपाली महिलामा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनलाई उनका श्रीमान र चार जना छोराछोरीलाई पनि तत्कालै आइसोलेसनमा राख्नका लागि स्थानीय केसी जनरल अस्पताल पुर्याइएको थियो ।

त्यहाँ तत्कालै उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा आफूलाई मात्र कोभिड १९ संक्रमण देखिएको श्रीमानले बताए । छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको उनले बताए । ‘मेरो मात्र पोजिटिभ रिपोर्ट आयो, धन्न छोराछोरीमा केही देखिएन,’ उनले भने । हाल उनी र चारै जना छोराछोरीलाई बैंग्लोरकै केसी जनरल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्