कोरोनाले बेलायतका मेयर निर्वाचित रस्टको मृत्यु, गोरखा दुः खी



काठमाडौं :कोरोना भाइरस संक्रमणले बेलायतको रश्मुर बरो काउन्सिलका मेयर निर्वाचित फ्रान्क रस्टको गत सोमबार मृत्यु भएको हो ।

कोरोना संक्रमित उनको फ्रिम्ले पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । ८१ वर्षिय रस्ट र उनकी श्रीमती कोरोना संक्रमणबाट अस्पताल भर्ना भएका थिए । श्रीमती बाँचिन्, उनी कोरोनालाई जित्न सकेनन् ।

सन् २०२०-२१ का लागि रश्मुर मेयर निर्वाचित भए पनि कार्यभार सम्हाल पाएनन् । उनले यसअघि सन् २००३-४ सम्म एक वर्ष रश्मुरकै मेयर बनेका थिए । रस्टको मृत्युको खबर बेलायतदेखि टाढा नेपालको गोरखा नगरपालिकालाई पनि दु :खी बनाएको छ ।

उनी गत माघमा गोरखा नगरपालिका र रश्मुर बरो काउन्सिलबीच भगिनी सम्बन्ध स्थापित गराएका थिए । ‘भगिनी सम्बन्ध स्थापित गर्ने बेला दुई दिनसम्म हामीले रस्टसँगै बिताएका थियौं । उनी नेपाली समुदाय र नेपाललाई माया गर्ने व्यक्तिको रूपमा मैले पाएको थिएँ,’ गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले भने, ‘भगिनी सम्बन्ध स्थापित गर्न अहोरात्र खटेका रस्टको निधनमा हामीले बिहीबार नगरकार्यपालिका बैठकमा एक मिनेट मौनधारण गर्यौ । शोक प्रस्ताव पनि पारित गरिएको छ ।’

‘रस्ट मेयरको रूपमा कार्यभार सम्हालेपछि नेपाल, गोरखा आउन चाहन्थे,’ उनले भने, ‘उनको इच्छा अधुरो रह्यो ।’ बेलायतमा बस्ने नेपालीहरूले रस्टको मृत्युबारे आफूलाई जानकारी गराएको मेयर पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्