बी.एण्ड सी.अस्पतालमा वडा अध्यक्ष तुम्बापोको मृत्यु



पाँचथर :जिल्लाको फिदिम-५, का जननिर्वाचित वडा अध्यक्ष लीलाराज तुम्बापोको आज (शुक्रबार) मृत्यु भएको छ ।

उनको झापाको बिर्तामोडस्थित बी.एण्ड सी.अस्पतालमा उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । उनको रक्त अल्पताका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

उनी केही साता अघिदेखि अस्वस्थ बनेका थिए । उनी सुनसरीको धरानस्थित बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराएर बुधबार मात्र घर पुगेका थिए । स्वास्थ्यमा केही सुधार आएपछि घर फर्केका उनी बिहीबार बिहान अचानक बेहोस भएका थिए ।

त्यसपछि उनलाई फिदिमस्थित समर्पित अस्पतालमा भर्ना गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि सोहि दिन साँझ उनलाई हेलिकप्टर मार्फत बी.एण्ड सी.अस्पताल लगिएको नेकपा फिदिम–५, का अध्यक्ष अबिनाश तुम्बापोले बताए ।

उनको भेन्टिलेटरमा राखेर उपचार गरिए पनि शुक्रबार दिउँसो निधन भएको हो । ३५ वर्षिय तुम्बापो गत स्थानीय तह निर्वाचनमा नेकपाको तर्फबाट फिदिम-५, को वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी राष्ट्रिय युवा संघ, पाँचथरका सह-संयोजक पनि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्