नोवेलले कोरोनाको बिरामी भनेको ७० वर्षीया वृद्धाको बिपी प्रतिष्ठानमा एपेन्डिक्सको शल्यक्रिया



विराटनगर : बुधबार राति एपेन्डक्सको शल्यक्रिया गर्ने सम्पूर्ण तयारी हुँदै गर्दा विरामीले खोकेपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजका चिकित्सकहरुले शल्यक्रिया गर्नबाट पछि हटेका छन् ।

मोरङको पथरी शनिश्चरे–७ की ७० वर्षीया वृद्धाको दाहिनेपट्टिको पेख दुखेपछि नोवेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् ।

उनको बुधबार राति ९ बजे शल्यक्रिया गर्ने तयारी भइरहेको थियो । तर, अन्तिम सयममा आएर वृद्धाले खोकेपछि चिकित्सकहरु शल्यक्रिया गर्नबाट पन्छिएका हुन् ।

वृद्धालाई कोरोनाभाइरस (कोभिड–१९) पनि रहेछ भन्दै चिकित्सहरुले शल्यक्रिया गर्नबाट पन्छिएका थिए ।

बिहीबार बिहान चिकित्सकहरुले चिकित्सकको अभाव देखाउँदै वृद्धालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिदिए ।

बिहीबार अपराह्न ४ बजे बिपी प्रतिष्ठान पुर्याइयो । उनको रातिकै एपेन्डिक्सको शल्यक्रिया भएको बिपी प्रतिष्ठानले जनाएको छ । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको बिपी प्रतिष्ठानको शल्यक्रिया विभागका डा. निर्मल साहले बताए ।

उनले भने–‘तीन दिनदेखि पेट दुखेको र एक दिनदेखि ज्वरो पनि आएको रहेछ । एपेन्डिक्स भएको पाइएपछि बिहीबार राति नै शल्यक्रिया गरिएको हो । अहिले बिरामीको अवस्था अहिले सामान्य छ ।’

प्रतिक्रिया दिनुहोस्