(नेकपा) को सचिवालय बैठक बोलाउन माग



काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय र तयारी एकपछि अर्को गरी विवादमा तानिएपछि सत्तारुढ दल नेकपाभित्र पार्टी बैठक बोलाउन माग भएको छ ।

सरकारले गरेका निर्णयले पार्टी संगठनलाई क्षति पुग्ने अवस्था आएको भन्दै सचिवालयकै नेताहरुले बैठक बोलाउन माग गरेका हुन् । पछिल्लो पटक चैत ५ मा बैठक बसे पनि त्यसयता नेकपाको सचिवालय बैठक बसेको छैन् ।

‘हो, मैले पार्टी सचिवालयको बैठक बस्न माग गरेको छु । दुवै अध्यक्ष कमरेडहरुलाई अनुरोध गरेको छु । आवश्यकता पर्दा मन्त्रिपरिषद र उच्चस्तरीय समन्वय समितिको बैठक बसेको छ । आजको सन्दर्भमा स्वास्थ्य प्रोटोकलको पालना गर्दै सचिवालयको बैठक पनि बस्न सक्छ । त्यसैले शीघ्र बैठक बस्ने विश्वास छ, बस्नै पर्छ,’ पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शनिबार बिहान ट्वीटमार्फत भनेका छन् ।

पार्टी सचिवालयका अन्य नेताहरुलेसमेत सचिवालय बैठक बोलाउन भन्दै दुवै अध्यक्षसँग आग्रह गरेका छन् । सचिवालयका नेताहरुको मागपछि बैठक बोलाउने विषयमा शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच टेलिफोनमा कुराकानी भएको थियो । तर, बैठक बोलाउनेबारे ठोस सहमति भने भएको थिएन ।

यसअघि चैत १९ मा प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबीच कोभिड-१९ को संक्रमण रोक्न सरकारले चालेका कदमबाट प्रभावित जनतालाई राहत दिनेलगायतका विषयमा छलफल भएको थियो । पछिल्लो पटक चैत ५ मा बसेको सचिवालय बैठकले ‘कोभिड-१९’ को संक्रमणको रोकथाम र सचेतनाका लागि थप प्रभावकारी कार्य गर्न सरकारलाई आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्