मलेसियासहित खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपालीमा कोरोना भएको पुष्टि



काठमाडौं : नेपाली कामदारको बाहुल्य रहेका सबैजसो श्रम गन्तव्यहरुमा अहिले कोरोना भाइरसको फैलदो संक्रमणको चपेटा रहेको छ ।

त्यहाँ कार्यरत नेपाली कामदारहरु पनि संक्रमणको उच्च जोखिममा रहेका छन् । अहिलेसम्म मलेसियासहित विभिन्न खाडी गन्तब्यहरुमा कार्यरत २७ जना नेपाली कामदारमा (कोभिड-१९) कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किएका छन् । कतिपय देशले संक्रमतिको राष्ट्रियता नखुलाएकाले ती देशमा नेपाली कामदार संक्रमणमा परे कि परेनन् भन्ने स्पष्ट भएको छैन । कामदारहरु संक्रमित भएका देशहरुले उपचार नि : शुल्क गर्ने बताएका छन् ।

अहिलेसम्म सबै भन्दा बढी नेपाली कामदार बहराइनमा संक्रमित छन् । बहराइनमा अहिलेसम्म १२ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको छ । केही दिनअघि बहराइनमा एकै पटक ९ जना नेपालीमा संक्रमण देखिएको थियो भने त्यसअघि ३ जना संक्रमित आइसोलेसनमै थिए ।

सल्मावादस्थित करिब चार सय जना बस्ने एक श्रमिक शिविरमा कोरोना फैलिँदा एकै पटक ९ जना नेपाली त्यसको संक्रमित भएको पाइएको थियो । सो शिविरबाट ६६ जना संक्रमितको पहिचान भएको थियो । बिरामी कामदारहरुलाई आसोलेनसमा राखेर उपचार भइरहेको बहराइनमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । बहराइनमा अहिलेसम्म ७ सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

त्यसमध्ये ४३१ जना निको भएका छन्, भने २६५ जना आइसोलेसनमा उपचार गरिरहेका छन् । ४ जनाको मृत्यु भएको छ । एकै पटक ठूलो संख्यामा नेपाली कामदार संक्रमित भएको खबर आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बहराइनका प्रधानमन्त्री खालिफा बिना सलमान अल खालिफासँग टेलिफोन वार्ता गरेका थिए ।

बहराइनका समकक्षीसँग प्रधानमन्त्री ओलीले संक्रमित कामदारको उपचार र सुरक्षामा चासो राख्दै सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि नेपाली कामदारहरु संक्रमित बनेका छन् । अहिलेसम्म यूएईमा ८ जना नेपाली कामदार कोरोना संक्रमणको चपेटामा परेका छन् । त्यसमध्ये २ जना सन्चो भएर डिस्चार्ज भइसकेका दुबईस्थित नेपाली दूतावासले जनाएको छ ।

६ जना उपचारकै क्रममा रहेका छन् । यूएईले कामदारको उपचारलाई पनि स्वदेशी सरहनै महत्व दिएको दूतावासले बताएको छ । यूएईमा अहिलेसम्म १७ सय ४४ जना संक्रमित भेटिएका छन् । १४४ जना उपचारपछि घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ ।

यसैगरी साउदी अरबमा काम गरिरहेका ४ नेपाली कामदार पनि कोरोनाबाट संक्रमित बन्न पुगेका छन् । रियादस्थिति नेपाली दूतावासका अनुसार ४ जना नेपाली संक्रमित भएर उपचाररत छन् । तर, ती कामदार को थिए र कहाँ कार्यरत थिए भन्ने जानकारी दूतावसलाई त्यहाँको सरकारले दिएको छैन ।

साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार ४०२ पुगेको छ । उपचारमा रहेका ४८८ जनालाई निको भएको छ भने ३४ जनाले ज्यान गुमाएका छन् । साउदीले संक्रमण रोक्न विभिन्न क्षत्रेमा कर्फ्यु लगाएको छ भने घर फर्किन नपाएका कामदार अवैध नहुने गरी आवासीय परिचयपत्र (अकामा) को म्याद ३ महिना थपिएको छ ।

टेलिफोनमार्फत जानकारी गरेर आकामाको म्याद थप्न सकिने व्यवस्था गरिएको हो । सबै आप्रवासीहरुकोसमेत कोरोनाको उपचार नि : शुल्क गर्ने घोषणा साउदी सरकारले गरिसकेको छ ।

कुवेतमा दुई जना नेपाली कामदारमा संक्रमण भेटिएको छ । उनीहरु अहिले पनि उपचारकै लागि अस्पतालमा छन् । कुवेतमा ५६६ जनामा संक्रमण पुष्टी भएको छ ९९ जना उपचारपछि घर फर्किएका छन् । एक जनाको कोरोनाकै कारण मृत्यु भएको छ । मलेसियामा अहिलेसम्म ३ हजार ६६२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १००५ जनाको रोग निको भइसकेको छ भने ६१ जनाको मृत्यु भएको छ ।

नेपाली कामदारको बाहुल्य रहेको मलेसियामा अहिलेसम्म एक जना नेपालीमा मात्रै संक्रमण पुष्टि भएको छ । सेलांगर क्षेत्रमा काम गर्ने ती कामदार अहिले आइसोलेसनमा छन् । क्वालम्पुरस्थित दूतावासका अनुसार ती कामदारसँग नियमित सम्पर्क भइरहेको छ । मलेसियाले पनि देशका विभिन्न भागमा आवागमन बन्द गरेर संक्रमण रोक्ने प्रयास गरिरहेको छ । लकडाउन उल्लंघन गर्ने चार जना नेपाली भने ३ महिनाका लागि जेलमा छन् । कतारले अहिलेसम्म संक्रमितहरुको राष्ट्रियता खुलाएको छैन ।

नेपाली कामदारको पनि बाहुल्यता रहेकाले त्यहाँ नेपालीहरुमा संक्रमण भएको हुन सक्ने आशंका मात्रै छ । अहिलेसम्म कतारमा १ हजार ६०४ जनामा संक्रमण पुष्टि भएको छ । १२३ जना संक्रमित उपचारपछि निको भएर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

कतारमा संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ । कतारले शिविरहरुमा गरेको लकडाउन उल्लंघन गरेको आरोपमा २ सयभन्दा बढी नेपाली कामदारलाई डिपोर्ट पनि गरेको थियो । ओमानमा पनि अहिलेसम्म कुनै नेपालीमा संक्रमण पुष्टि भएको छैन । त्यहाँ संक्रमित भएका २९८ जनामध्ये ६१ जना घर फर्किएका छन् भने २ जनाको मृत्यु भएको छ ।

नेपाली कामदार कार्यरत सबैजसो देशहरुमा अहिले पूर्ण वा आंशिक लकडाउन लागू छ । कामममा जानुपर्नेहरुलाई संक्रमण्को खतरा छ । क्याम्प तथा होस्टमा एउटै कोठामा धेरै कामदार बस्नुपर्ने भएकाले पनि जोखिम उच्च छ । विदेशमै रहँदा कतिपय कामदरको भिसा अवधि सकिएको छ । नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लगाएका कारण उनीहरु नेपाल फर्किन पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्