स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप १५ सय भत्ता



काठमाडौं : सरकारले कोरोना संक्रमण रोकथामका लागि परिचालित स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप १५ सय रुपैयाँ भत्ता दिने भएको छ ।

आजको मन्त्रिपरिषद बैठकले स्वास्थ्य स्वयंसेविकाहरुलाई एक पटकका लागि १५ सय प्रोत्साहन भत्ता दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं.अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको आइतबार बसेको १७ औं बैठकले देशभर ५० हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय गरेको थियो ।

स्वयंसेविकाहरुलाई मानिसहरु क्वारेन्टाइनमा बसेर नबसेको हेर्नेलगायतका काममा परिचालन गरिने छ । सरकारले क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्य परीक्षण गर्दा कोरोना नदेखिए घर जान दिने, तर थप ७ दिनसम्म घरभित्रै बस्न अनिवार्य गरेको छ ।

उनले भने,‘स्वास्थ्य स्वयंसेविकाहरुलाई कोरोना रोकथाममा परिचालन गर्न, क्वारेन्टाइनमा नागरिकहरु बसेरनबसेको हेर्न र अरु स्वास्थ्य सेवाको काममा उत्प्रेरित गर्नका लागि एक पटकको लागि प्रतिव्यक्ति १५ सय प्रोत्साहनस्वरुप दिने निर्णय भएको छ ।’ बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारी अस्पतालहरुमा आएर काम गर्न इच्छुक निजी अस्पतालका डाक्टरहरुलाई सरकारी डाक्टरसरह सेवा सुविधा दिने निर्णयसमेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्