प्रदेश २ मा १ सय १९ जनाको स्वाब परिक्षण, १ सय ३ को निगेटिभ, १६ जनाको रिपोर्ट आउन बाँकी



जनकपुरधाम : आज ( मंगलबार) दिउँसोसम्म १ सय १९ जना कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुको थ्रोट स्वाब परिक्षण गरिएको छ ।

त्यसमध्ये १ सय ३ जनाको रिपोर्ट निगेटिभ आएको छ भने १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । अर्कोतर्फ भारत लगायत अन्य देशबाट फर्केर नेपाल आएका कोरोना भाइरसका शंकास्पद व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्ने क्रमसमेत जारी रहेको छ ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमणको आशंकामा विभिन्न जिल्लामा निर्माण गरिएको ३ हजार १ सय ७४ बेड क्षमताको १ सय ४४ वटा क्वारेन्टाइनमा ९ सय ३६ जना शंकास्पद व्यक्तिलाई राखिएको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

प्रदेशभरिमा अहिले १ हजार २ सय १३ जना व्यक्तिहरु होम क्वारेन्टाइनमा रहेका छन् भने २ सय ८ बेड क्षमताको आईसोलेशनमा २२ जना भर्ना रहेको उनले बताए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा ७ सय ५५ बेड संख्याको १६ वटा क्वारेन्टाइन बनाइएको छ । जहाँ २ सय ४३ जनालाई क्वारेन्टाइनमा र ४२ जनालाई होम क्वारेन्टाइनमा राखिएको छ भने ३० बेड क्षमताको आईसोलेशन बेडमा अहिले कुनै शंकास्पद बिरामी नरहेको बताइएको छ ।

त्यस्तै बारामा ४ सय ४ बेड क्षमताको १४ वटा क्वारेन्टाइनमा अहिलेसम्म ५४ जनालाई राखिएको छ । बारा जिल्लामा निर्माण गरिएको ४८ वटा आईसोलेशन बेडमा अहिले ११ जना कोरोनाका शंकास्पद बिरामीलाई राखिएको झाले जानकारी दिए । बारामा अहिले ३० जना होम क्वारेन्टाइनमा रहेका छन् ।

पर्सामा २ सय ४४ बेड क्षमताको १४ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ ७२ जना क्वारेन्टाइनमा र ७८ जना होम क्वारेन्टाइनमा रहेका छन् । पर्साको बिभिन्न ठाउँमा रहेको २८ बेडको आईसोलेशनमा अहिले ५ जना शंकास्पद बिरामीलाई राखिएको छ ।

सप्तरीमा ५ सय ८० बेड क्षमताको ३१ वटा क्वारेन्टाइनमा अहिले २ सय ६४ जनालाई निगरानीमा राखिएको छ भने ७० जना होम क्वारेन्टाइनमा छन् । राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा रहेको ९ वटा आईसोलेशन वार्डमा अहिले कुनैपनि बिरामी नरहेको उनले बताए ।

सिरहामा २ सय ४६ बेड क्षमताको १७ वटा क्वारेन्टाइनमा अहिले १ सय २३ जना र होम क्वारेन्टाइनमा ७७ जना रहेका छन् । त्यस जिल्लामा ४० बेडको आईसोलेशन रहेकोमा त्यहाँ अहिलेसम्म कुनै पनि शंकास्पद बिरामीलाई राखिएको छैन ।

धनुषामा ३ सय ५४ बेड क्षमताको १६ वटा क्वारेन्टाइनमा अहिले ९६ जनालाई राखिएको झाले जानकारी दिए । यस जिल्लामा अहिलेसम्म ६० जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरमा १२ बेडको आइशोलेसन रहेकोमा ६ जना शंकास्पद बिरामीलाई आईसोलेशनमा राखिएको छ ।

त्यस्तै महोत्तरीमा ३ सय १० बेड क्षमताको १६ वटा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ अहिलेसम्म ८ सय ५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ भने क्वारेन्टाइनमा ५७ जनालाई राखिएको छ । महोत्तरीमा २६ बेडको आईसोलेशन वार्ड निर्माण गरिएपनि अहिले ति आईसोलेशनमा कुनै पनि शंकास्पद बिरामी नआएको उनले बताए ।

सर्लाही जिल्लामा २ सय ८१ बेड क्षमताको २० वटा क्वारेन्टाइनमा अहिले २७ जना रहेका छन् भने ५१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको उनले बताए । १५ वटा आईसोलेशन बेड निर्माण गरिए पनि अहिले ति आईसोलेशनमा कुनै पनि शंकास्पद बिरामी आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्