वीरगन्जमा कोरोना विशेष अस्पताल सञ्चालन हुने



नरेश सर्राफ/वीरगन्ज : वीरगन्जमा बेग्लै सुविधा सम्पन्न कोरोना विशेष अस्पताल बन्ने भएको छ । यसको लागि प्रदेश २ को चिकित्सक सहितको विज्ञको टोलीले आज वीरगन्जको विभिन्न ठाउँमा सम्भाव्यत अध्ययन पनि गरेको छ । वीरगन्जमा पनि कोरोना परिक्षणका लागि छुट्टै अस्पताल निर्माण गर्नुपर्ने चौतर्फी रुपमा माँग बढेपछि प्रदेश सरकारले सक्रियता देखाउँदै वीरगन्जमा पनि छुट्टै कोरोना विशेष अस्पताल सञ्चालनको तयारी गरेको हो ।

प्रदेश नं. २ को सरकारले कोरोनाभारस अर्थात कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि गठन गरेको विज्ञहरुको टोलीले विशेष अस्पताल संचालनको लागि मंगलबार वीरगन्जका विभिन्न अस्पतालहरुमा सम्भाव्यत अध्ययन गरेको हो ।

कोरोनाभाइरसको उपचारका निम्ति विशेष अस्पताल स्थापन गर्न आवश्यक देखिएको भन्दै पर्साबाट सोमबार प्रतिनिधिसभा सदस्य प्रदीप यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी र नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायको ३ सदस्यीय टोलीले अस्थायी राजधानी जनकपुर मै पुगेर प्रदेश सरकारसँग माग गरेको थियो ।

टोलीले प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीसँग प्रदेशसको अस्थायि राजधानी जनकपुरस्थित मुख्यमन्त्रीको कार्यालय पुगेर वीरगन्जमा कोरोनाभाइरस उपचारका लागी विशेष अस्पताल स्थापन गर्न लिखित रुपमा माग गरेका थिए ।

यसअघि राष्ट्रिय जनता पार्टी नेपालका सह महासचिव एवं समाजसेवी निजामुदीन समानी, राजपाकै महानगर अध्यक्ष ओमप्रकाश सर्राफले छुट्टाछुट्टै विज्ञप्ती जारी गरेर वीरगन्जमा कोरोना विशेष अस्पताल र कोरानाभाइरसको सम्पूर्ण चेकजाँच वीरगन्जका हुनुपर्ने माग गरेका थिए ।

मागमाथि सुनुवाई गर्दै मुख्यमन्त्री राउतले विज्ञहरुसहितको टोली सम्भाव्यता अध्ययनको लागि प्रदेश सरकारद्वारा गठित चिकित्सक विज्ञ समुहसहित टोलीले आज नगरको विभिन्न अस्पतालमा पुगेर स्थलगत अध्ययन गरेको हो । चिकित्सकको टोलीले वीरगन्जस्थित नारायण अस्पताल, वीरगन्ज हेल्थ केयर हस्पिटल, नेसनल ट्रेडिङ्ग र कृषी ज्ञान केन्द्रमा कोरोना भाइरसका लागि विशेष अस्पताल स्थापन गर्न सम्भाव्यत अध्ययन गरेको हो ।

टोलीले वीरगन्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर हालका लागि कोरोनाको विशेष बनाउन सकिने प्रस्ताव अगाडी सारेको छ ।

अध्ययन टोलीका सदस्यहरुले हालका लागि वीरगन्जको बहुअरी गण्डक नजिकै रहेको वीरगन्ज हेल्थ केयर हस्पिटललाई भाडामा लिएर कोरोनाको विशेष बनाउन सकिने बताएका छन, सांसाद यादवले भने, ‘तर अहिले निश्चित भने भइसकेको छैन, अध्ययन टोलीले प्रतिवेदन दिएपछि यसको टुँगो लाग्ने छ र केहि दिन भित्र विशेष अस्पताल तयार हुन्छ ।’

सम्भाव्यत अध्ययन गर्ने टोलीमा सुरेन्द्र यादव, विजय सिंह, राम एकबार साह, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायलगयातको सहभागिता थियो ।

सांसद यादवद्वारा पीपीई सेट हस्तान्तरण

प्रतिनिधि सभा सदस्य यादवले प्रदेश सरकारले उपलब्ध गराएको ५५ थान पीपीई सेट, ४० पिस एन ९५ मास्क, १५० पिस सेनेटाईजर, ग्लब्स र अन्य स्वास्थ्य सामग्री नारायणी अस्पताललाई आजै हस्तान्तरण समेत गरेका छन् ।

सर्लाहीदेखि पर्सासम्मका बिरामीहरुको एकोहोरो चाप खेपिरहेको नारायणी अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव हुन थालेपछि सांसद यादवले स्वास्थ्य उपचारको लागि समाग्री उपलब्ध गराएका हुन ।

चौधरी फाउन्डेशनले प्रदेश नम्बर २ लाई सहयोग स्वरुपमा प्रदान गरेका उक्त स्वास्थ्य सामग्री एक कार्यक्रम बिच सांसद यादवले नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्याय उपलब्ध गराएका हुन । कार्यक्रममा प्रदेश सांसद सिंगासन साह र जन्नत अंसारी, जिल्ला समन्वय समितिको अध्यक्ष नेक महमद मियाँ, समाजवादी पार्टी पर्साका अध्यक्ष रामनरेश यादव, महानगर अध्यक्ष इश्वर यादव, सुन्दर कुर्मी, तबरेज अहमद, लगायतका सहभागिता रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस्