प्रधानमन्त्री भन्छन् : ओम्नीसँग भएको खरिद सम्झौता थाहै छैन



काठमाडाैं : प्रधानमन्त्री केपी ओलीले औषधि तथा स्वास्थ्य उपकरण खरिद प्रकरणका विषयमा आफूलाई धेरै जानकारी नै नभएको बताएका छन्। पार्टी सचिवालय बैठकमा खरिद प्रकरणमा भएको आर्थिक अनियमितताका विषयमा नेताहरूले प्रश्न उठाएपछि प्रष्टिकरण दिने क्रममा ओलीले ओम्नीसँग भएको विवादास्पद खरिद सम्झौता बारेमा आफूलाई थाहै नभएको बताएका हुन्।

उनले यस विषयमा आफू पनि वास्तविकता बुझने क्रममै रहेको र यो विषयमा छानबिन गरिने बताए।

‘खरिद प्रकरण सम्बन्धमा ओम्नीसँग के कसरी सम्झौता भयो ? त्यसभित्र के के भएको थियो भन्ने विषयमा म आफैँलाई पनि जानकारी प्राप्त भएको थिएन’, प्रधानमन्त्री ओलीको प्रष्टोक्ति उदृत गर्दै सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने, ‘म आफैं यो विषयमा अनुसन्धान गरेर छानबिन गर्ने प्रक्रियामा छु।’

विवादास्पद कम्पनी ओम्नीलाई औषधि खरिदको जिम्मा दिने निर्णय, महँगो मूल्य र विश्वसनियतामा समेत आशंका हुन थालेपछि प्रधानमन्त्री ओलीले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय लिएका थिए। यो विषयमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठकमा समेत प्रश्न उठाएका थिए।

उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीकै सचिवालयका सल्लाहकारदेखि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्मका नेता खरिद प्रकरणमा जोडिएका थिए।

मंगलबारको सचिवालय बैठकमा नेताहरुले खरिद प्रकरणमा भएको अनियमितिाका बारेमा जवाफ माग गरेपछि प्रधानमन्त्रीले भनेका थिए, ‘म आफैं भष्टाचार हुन दिन्न र गर्नेलाई पनि छोडदिन भनिरहेको छु, यस प्रकरणमा मलाई जानकारी नै नदिई काम भयो, यस वारेमा के कसो भएको हो म अनुसन्धान गर्दैछु।’

खरिद सम्झौता रद्द पछि सरकारले सेनालाई औषधि तथा उपकरण खरिदको जिम्मा दिएको विषयमा पनि नेताहरूले प्रश्न उठाएका थिए। नेताहरूले नागरिक प्रशासनलाई कमजोर बनाउने गरी सेनालाई खरिदको जिम्मा दिएको भन्दै बैठकमा प्रश्न उठाएपछि ओलीले यस विषयमा आफूले धेरै सोचविचार गरी निर्णय लिएको बताएको सहभागी एक नेताले जानकारी दिए।

उनले सेनालाई खरिदं जिम्मा दिँदैमा नागरिक प्रशासन कमजोर नहुने धारणा राखेका थिए।

‘तपाईहरूले उठाएका प्रश्न आशंकामा होला, त्यसो हुन्न, सेनालाई खरिदको जिम्मा दिँदैमा नागरिक सरकारलाई कमजोर पार्ने काम गरिन्न, गर्न त्यस्तो खोजिएको पनि होइन, यसमा कसैले आशंका गर्नेपर्दैन’, प्रधानमन्त्रीले भने।

बैठकको सुरुमै प्रधानमन्त्री ओलीले सरकारले कोविड–१९ का रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको प्रयासका वारेमा जानकारी गराएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा गत चैत ५ यता बस्न नसकेको सचिवालय बैठक मंगलबार बसेको हो।

बैठकमा ओलीले सुरुमै सरकारको तयारी र कार्ययोजनाका विषयमा केन्द्रित रहेर झण्डै २ घण्टा सम्बोधन गरेका थिए। त्यसपछि सरकारले गठन गरेको कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा उच्चस्तरीय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो समितिले गरेका कामका बारेमा विफ्रिङ गरेका थिए।

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाललगायत सचिवालय सदस्यले सरकारले गरेका कामका विषयमा सुझाव राखेका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, प्रधानमन्त्री र उपप्रधानमन्त्रीले सरकारले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिका बारेमा विस्तारपूर्वक जानकारी पछि अन्य नेताले आआफ्ना धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राखेका थिए।

बैठकमा पार्टीभित्रका अन्तरविरोध र पार्टी एकतालाई कमजोर बनाउने गरी समाजिक सञ्जालमा नेता–कार्यकर्ताले नै उठाएका विषयमा पनि गम्भीर छलफल भएको थियो। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्