के यही हो क्वारेन्टाइन ?



सुदूरपश्चिम  : तराईका स्थानीय तहले बनाएका क्वारेन्टाइन खाली–खाली रहेका बेला पहाडमा भने कोचाकोच छन् । पहाडी जिल्लामा नाम मात्रैका क्वारेन्टाइन बनाइएका छन् ।

डोटीका अधिकांश क्वारेन्टाइन सरकारले तोकेको मापण्दण्डअनुसार छैनन् । उनीहरूलाई घर जानबाट रोकिए पनि एकै सिरकमुनि तीन–चार जना सुतिरहेका छन् । कोरोना भाइरसबाट जोगिन सामाजिक दूरी अनिवार्य भनिएका बेला पहाडी जिल्लाका क्वारेन्टाइनमा एकै कोठामा भेडाबाख्रा खाँदेझैं मानिस राखिएका छन् ।

‘क्वारेन्टाइनको बसाइ साह्रै नराम्रो भएकाले जतिसक्दो चाँडो घर पठाउन सरकारलाई आग्रह गर्दछु’, डोटीको आदर्श गाउँपालिकास्थित शारदा मावि क्वारेन्टाइनमा बसेका ओम थापाले भने, ‘बसाइ पूरै अव्यवस्थित छ । खोरमा भेंडा, बाख्रा राखेजस्तै राखिएको छ ।’ उनले चिसोले गर्दा झनै बिरामी भएको बताए ।

डोटीकै शिखर नगरपालिका–४ स्थित पञ्चोदय मावि धुर्कोटको क्वारेन्टाइनमा बसेका छन्, नारायण महरा । बिनाकारण सजाय पाइरहेजस्तो अनुभव भएको उनले बताए । ‘बिनाकारण सजाय भोगेजस्तो भइरहेको छ’, उनले भने, ‘क्वारेन्टाइनमा राम्रो व्यवस्था छैन । एकै सिरकमुनि तीन–चार जना सुत्नुपरेको छ । गोठमा गोरु थुनेको जस्तो गरिएको छ ।’

क्वारेन्टाइन बसेको मंगलबार १४ दिन पुगेको छ । ‘हामी त मंगलबार घर जान पाइने भयो भनेर खुसी भएका थियौं तर प्रदेश सरकारले २१ दिन बस्नुपर्छ भनेपछि तनाव भयो’, सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा बसेका दीपक बलायरले भने । गहुँ खेती भिœयाउने बेलामा यसरी बिनाकाम बस्नुपरिरहेको गुनासो उनले गरे ।

गाउँमा कुनै पनि क्वारेन्टाइन सरकारले जारी गरेको क्वारेन्टाइन निर्देशिकाअनुसार सञ्चालनमा छैनन् । भारतबाट आएकाहरूलाई कोरोना संक्रमण नहोस् भनेर कम्तीमा पनि डेढ मिटर दूरी कायम गरी बस्नुपथ्र्यो । तर, एकै सिरक वा कम्बलमुनि तीन–चार जना सुत्नुपरेकाले उनीहरूमा अझ जोखिम देखिएको छ ।

पहाडका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरी देखिएको छ । संक्रमण रोक्न र समुदायमा फैलिन नदिन राखिएका क्वारेन्टाइनबाटै संक्रमणको खतरा रहेको उनीहरू बताउँछन् । राति झनै चिसो हुने भएकाले अधिकांश क्वारेन्टाइनमा ओढ्ने–ओच्छ्याउने कपडाको कमी छ भने साबुन, पानी, दाउरालगायत पनि समस्या देखिएको उनीहरूले बताएका छन् ।

५३ जनालाई एउटै चर्पी

अछाम सदरमुकाम मंगलसेनस्थित क्वारेन्टाइनमा रहेका ५३ जनाका लागि एउटा मात्रै शौचालय छ । उनीहरू बिहान शौचका लागि लाइन बस्ने गरेका छन् ।

चौरपाटी गाउँपालिका–५ लुग्राकी २२ वर्षीया ममता खड्का ४ महिनाकी गर्भवती हुन् । उनी श्रीमान् महेन्द्र खड्कासँग मंगलसेनको क्वारेन्टाइनमा बसेकी छन् । भारतको पुनाबाट फर्किएका उनीहरू ११ गते गौरीफन्टा नाकाबाट अछाम पुगेका थिए ।

क्वारेन्टाइनमा बसेको मंगलबार १४ दिन पुगेको छ । एउटै कोठामा ५ जना बसेका छन्् । पानीको र चर्पीको समस्या रहेको उनले बताइन् । ‘जसोतसो बसेकै छौं’, उनले भनिन्, ‘१४ दिनपछि घर फर्किने आसमा थियौं । फेरि केही दिन क्वारेन्टाइनमा बस्नुपर्ने भनिएको छ ।’

उनले शौचालय एउटा मात्रै भएकाले समस्या भएको बताइन् । क्वारेन्टाइन निर्देशिकामा बिहान खाजा, दिउँसो खाना, अपराह्न खाजा र राति खाना तोकिएको भए पनि खानाबाहेक नास्ता आफंै किनेर खाने गरेको बताइन् । ‘गर्भवती भएकाले यो माहोलमा बस्न निकै गाहे भएको छ’, उनले भनिन् ।

मंगलसेन नगरपालिको कृषि ज्ञान केन्द्रको भवनमा क्वारेन्टाइन बनाइएको छ । सरकारले लकडाउन घोषणा गरेको दिन चैत ११ गते ५३ जना गौरीफन्टा नाकाबाट अछाम आएका थिए । कैलालीका २१ वर्षीय युवामा कोरोना संक्रमण देखिएपछि ती युवाको समूहमा रहेको भन्दै उनीहरूको स्वाब परीक्षणको रिपोर्टपछि मात्र घर फर्काउने तयारी रहेको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

बाजुरामा पनि मापदण्डविपरीत

बाजुरामा पनि मापदण्डविपरीत क्वारेन्टाइन बनाइएका छन् । त्यहाँ २ सय १९ जना राख्ने क्षमताका ९ वटा क्वारेन्टाइनमा १ सय १७ जना राखिएका छन् । ती क्वारन्टाइन कुनै पनि मापदण्डअनुसार नभएको सहायक प्रमुख जिल्ला अधिकारी तथा क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समिति संयोजक समीर भण्डारीले बताए ।

‘सरकारले बनाएको निर्देशिका त ठीक हो तर हाम्रो जस्तो भूगोलमा निर्देशिका काम लाग्दैन’, उनले भने, ‘व्यावहारिकताका आधारमा काम चलाउनुपरेको छ ।’

मापदण्डमा एमपीएच वा एमडी एक जना डाक्टरले आठ घण्टाको सिफ्ट, मेडिकल अधिकृत एक जना, प्यारा मेडिकल एक जना, ल्याब एक जनालगायत थुप्रै स्वास्थ्यकर्मीको टोली हुनुपर्ने व्यवस्था छ ।

सहायक प्रमुख जिल्ला अधिकारी भन्छन्, ‘जिल्ला अस्पतालमा त यतिका चिकित्सक छैनन्, गाउँका क्वारेन्टाइनमा कहाँबाट ल्याउनु ? ’ बाजुराका क्वारेन्टाइनमा राखेकाका लागि अहेव, अनमीले सामान्य जाँच गरिरहेको स्वार्मीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए ।

परदेशको पीडा मेटियो

बैतडीमा क्वारेन्टाइनमा राखिएका व्यक्तिले भने भारतमा भन्दा एकदमै राम्रो रहेको बताएका छन् । लकडाउनपछि लुकेर ट्युबबाट महाकाली तरेर आएका सुर्नया गाउँपालिका–८ ढोलेका वीरबहादुर बोहराले भारतीय क्वारेन्टाइनमा भन्दा नेपालमा एकदमै राम्रो रहेको बताए ।

महाकालीबाट लुकेर आएका उनीसहित चार जनालाई गाउँको भूमिराज आधारभूत विद्यालयको क्वारेन्टाइनमा पु¥याइएको थियो ।

‘क्वारेन्टाइनमा बसेको एक साता भयो, समय बितेको पत्तै भएन’, उनले भने, ‘भारतको क्वारेन्टाइनभन्दा त हामीलाई धेरै राम्रो भएको छ । एक विद्यालयमा हामी अलगअलग बेडमा बस्न पाएका छौं । दुई पटक खाना र दुई पटक नास्ताको व्यवस्था छ ।’

सुर्नया गाउँपालिका–८ ढोलेस्थित भूमिराज आधारभूत विद्यालयमा २४ जना क्वारेन्टाइनमा छन् । बैतडीकै पुर्चौंडी नगरपालिका–८ मल्लादेहीका नरबहादुर बोहरा पनि गत साता ट्युबमार्फत महाकाली तरेर स्वदेश फर्किए । ‘भारतमा भोगेको पीडा गाउँको क्वारेन्टाइनले बिर्साएको छ’, उनले भने, ‘भारतमा हामी तीन दिन भोकै बसेका हौं । यता दिनको दुईपटक खाना, नास्ता र सरसफाइ सामग्रीको व्यवस्था छ । कोठामा अलगअलग बेड छन् । उताभन्दा धेरै सजिलो भएको छ ।’

तराईका क्वारेन्टाइन खाली

तराईका क्वारेन्टाइन भने खाली छन् । धनगढीको रंगशालामा ६४ बेडका क्वारेन्टाइन तयार छन् । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाका क्वारेन्टाइनमा भारतबाट आएकाहरू खचाखच रहेका बेला धनगढीमा खाली छन् । प्रदेश सरकार र धनगढी उपमहानगरपालिकाको समन्वयमा नेपाली सेनाले तयार पारेका क्वारेन्टाइनमा ८ जना मात्रै राखिएको छ ।

त्यहाँ आइसोलेसन कक्ष, सुविधायुक्त बेड र उपकरण पनि राखिएका छन् । कोरोना संक्रमण देखिए छुट्टै उपचारका लागि आइसोलेसन बनाएको बताए पनि संक्रमितको उपचार सेती प्रादेशिक अस्पतालमै भइरहेको छ । प्रदेश सरकारले कोरोना उपचार विशेष अस्पताल सेतीलाई घोषणा गरेको छ । अस्पातलमा २३ वटा आइसोलेसन वार्ड तयार पारिएको छ ।

रंगशालाको आइसोलेसन वार्डमा भारतबाट आएकालाई राखिएको जनस्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख ललितसिंह धामीले बताए । उनका अनुसार रंगशालाको मैदान र हललाई प्रयोग गरी बनाएका क्वारेन्टाइन र आइसोलेसन कक्षमा स्वास्थ्यकर्मीसहितको टोली खटाइएको छ । ‘भारतबाट आएका नागरिकलाई जुन स्थानीय तहका हुन् त्यहीं पठाएको हो’, उनले भने ।

प्रदेशको अस्थायी मुकाम धनगढीमा विभिन्न विद्यालयका भवन, पार्टी प्यालेस आइसोलेसन कक्ष घोषणा गरिएको छ । भारतबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएकाले सुदूरपश्चिम जोखिममा छ ।

धनगढी उपमहानगरपालिकाले त्रिरनगर मावि भवनमा क्वारेन्टाइन तयार पारेको छ । लकडाउनका बेला अलपत्र परेका ६४ जना भारतीय नागरिकलाई राखिएको मेयर नृपबहादुर वडले बताए ।

कैलालीका सम्पूर्ण स्थानीय तहले भारतलगायत मुलुकबाट आएका व्यक्तिलाई विशेष ख्याल गर्ने गरेका छन् । गोदावारीले पनि ३८ जनालाई क्वारेन्टाइनमा राखेको छ । ‘सैनिक आवासीय विद्यालय र मालाखेती अस्पातलमा आइसोलेसन तयार गरेको छ’, गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले भने, ‘दुईवटै ठाउँ गरी ३८ जना बसिरहेका छन् ।’

५६ बालबालिका र एक सय ६३ महिलासहित प्रदेशभर दुई हजार तीन सय ३६ जनालाई विभिन्न जिल्लामा क्वारेन्टाइनमा राखिएको सामाजिक विकास मन्त्रालयले बताएको छ । कैलालीको घोडाघोडी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा भने एउटै कोठामा ११ जना राखिएका छन् । स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले एकै दिन क्वारेन्टाइनमा आएका ११ जनालाई एउटै कोठामा राखिएको बताए ।

उनका अनुसार क्वारेन्टाइनमा १६ जना छन् ।

सरकारले बनाएको क्वारेन्टाइन मापदण्डमा प्रत्येक व्यक्तिको दूरी साढे ३ फिटसम्म हुनुपर्ने उल्लेख छ । एउटै कोठामा ११ जना राख्दा मापदण्ड भने पुगाइएको रावतले दाबी गरे । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्