अमेरिकामा आँधीहुरीबाट ६ जनाको मृत्यु



एजेन्सी : संयुक्त राज्य अमेरिकाको मिसिसिपी राज्यको ज्याक्सनमा आइतबार आएको विशाल आँधीहुरीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

आँधीबाट उत्तरी लुजियानामा कम्तीमा ३ सय घर र अन्य भवनमा क्षति पुगेको स्थानीय उद्धारकर्मीहरूले बताएका छन् । मिसिसिपी आपतकालीन व्यवस्थापन संस्थाका निर्देशक ग्रेग मिसेलले वाल्थाल काउन्टीमा १ जना, लरेन्स काउन्टीमा २ जना र जेफरसन डेभिस काउन्टीमा ३ जनाको मृत्यु भएको जानकारी दिए ।

अमेरिकी राष्ट्रिय जलवायु विभागले मिसिसिपी राज्यका अन्य क्षेत्रमा पनि तीव्र वेगका साथ हावाहुरी आउने बताएको छ । मेरिडियनको उत्तर अलाबामा राज्यको सीमा नजिक चक्रवात आउने सम्भावना रहेको विभागले जनाएको छ ।

मिसिसिपी राज्यका गभर्नर टेट रिभ्सले राज्यमा हावाहुरीले धेरै क्षति पुर्याएको भन्दै आइतबार नै आपतकालीन स्थितिको घोषणा गरेका छन् । ‘इस्टर पर्वकै दिन भीषण हावाहुरी आएर जनधनको नोक्सानी हुनु निकै दुःखदायी कुरा हो,’ गभर्नर रिभ्सले ट्वीट गर्दै भनेका छन्, ‘कोरोना भाइरसको महामारी चलिरहेकै बखत आँधीले दुः ख दिए पनि हामी सबै मिलेर यस्ता दुःख निवारण गर्न सक्षम हुनुपर्छ ।’

उत्तर पश्चिम लुजियानामा पनि स्थानीय अधिकारीहरूले राज्यका डीसोटो र वेब्स्टर क्षेत्रमा दर्जनौँ घरमा क्षति पुगेको बताएका छन् । अमेरिकी जलवायु विज्ञान विभागले पछिल्लो आँधीले मिसिसिपी, अलाबामा र पश्चिम जर्जियामा समस्या निम्त्याउने जनाएको छ । अमेरिकाका दक्षिणी क्षेत्रका धेरै राज्यमा आँधीले नोक्सान गर्ने सम्भावना देखिएको पनि विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्