लकडाउनमा इँटाभट्टाका मजदुरको पीडा : भन्छन्–‘रोगभन्दा भोकले मार्ने भयो’



सुनिल अछामी मात्रै १४ वर्षका भए । कक्षा पाँचमा पढ्दा पढ्दै पैसा कमाउने लोभमा परे । बाबा आमा पनि काठमाडौंको खाल्डोमा हान्निए । रामेछापबाट काठमाडौं छिरेका अछामी ललितपुरको गोदावरी नगरपालिका– १३ झरुवाराशीमा रहेको बज्र इँटा भट्टामा खच्चड धपाउने काम गर्छन् । कोरोनाभाइरसको महामारीका कारण संसार नै त्राहीमान छ । नेपाल पनि त्यसबाट अछुतो छैन । तर अछामीलाई त्यसले कुनै फरक पारेको छैन । बिहान घाम उदाउँदा बिउझने उनका आँखा दिनभर खच्चड धपाउँदैमा बित्छ ।

मासिक रु सात हजार कमाउँथे अछामीले । पछिल्लो समयमा कोरोनाभाइरसको प्रकोपका कारण भट्टामा काम खासै चलेको छैन । तैपनि उनको काम नियमित जस्तै छ । पढ्न छाडेर किन यहाँ आएको त बाबु ? हाम्रो प्रश्नको उत्तर दिन खोजेनन्, उनले । मात्रै फिस्स हाँसे । उनले धपाउँदै गरेको खच्चड पनि हाम्रो कुरा सुने जस्तै गरेर उभिरह्यो । केही समय लगाएर उनले भने “पढ्न मन नलागेरयता आएको । दिनभरि यही काम गर्छु ।”

बालश्रमलाई कानूनले बर्जित गरेको भए पनि सो इँटा भट्टाका सञ्चालकले त्यसमा कुनै ध्यान दिएका छैनन् । कोरोना कहरका कारण घर जाऔँ जस्तो त भएको छ रे, उनलाई । तर सवारी साधन नचलेका कारण लकडाउनमा पनि खच्चड धपाउनु, खच्चडलाई इँटा बोकाउनुु उनको दैनिकी बनेको छ । “सर खाने चामल केही छैन, हामीलाई केही दिन आउनुभएको हो र ?” अछामीले भने, “सर काम नभएका कारण हामी त भोकै पर्लाऔँ जस्तो छ, केही राहत पाइन्छ भन्ने सुनेको थियौँ, हामीलाई त कसैले केही दिएका छैनन ।”

इँटाभट्टा सञ्चालकले केही दिएका छैनन् ? हाम्रो अर्को प्रश्न थियो, उनलाई । “छैन सर छैन, केही दिएका छैनन्”, अछामीले धपाइरहेको खच्चडको ढाड गले जस्तो ग-यो । हिँड न जाऔँ भने जस्तै गरी करायो । चर चर उनका खुट्टा फुटेका छन् ।

रिङ्कु सहनी सर्लाहीबाट ललितपुरको झरुवाराशीमा काम गर्न आएका हुन् । भालेको डाँकसँगै इँटाभट्टामा खैलाबैला शुरु हुन्छ । बिहान उदाउँदा उनको काखे बालक पनि सँगै ब्युँउझन्छ । दिनभर इँटा बनाउने उहाँको दैनिकी उस्तै छ । सरकारले कोरोना सङ्क्रमण रोक्नका लागि लकडाउन गरे पनि उनलाई कुनै फरक परेको छैन । खाने सामल सकिएकाले चिन्ता बढाएको छ । “छैन सर, छैन, साहुहरु आउँछन् मात्रै केही दिएका छैनन्”, उनले भने, “एक हप्तामा रु एक हजार दिएर गएका थिए, सोही पैसाले पाँच किलो चामल किनेको, भोलि बिहानसम्मलाई मात्रै पुग्छ, त्यसपछि के गर्ने हो ? कुनै ठेगान छैन ।” हामीसँग कुरा गर्दै गर्दा उनको बच्चा ब्युँउझियो र रुन थाल्यो ।

उमेशबहादुर श्रेष्ठ सर्लाहीको वरहथवाबाट भट्टा पार्न बज्र इँटाभट्टामा आएका हुन् । उनको कमाण्डमा २२ जनाले इँटा बनाउने काम गर्छन् । “हाम्रो कुनै माग छैन, घर जान पाए हुन्थ्यो, घर पठाइदिन सक्नुहुन्छ त सर ? चुल्हो बाल्नलाई चामल छैन, साहुजीहरु हाम्रो मेहनतबाट धेरै पैसा कमाउँछन्, विपद्को समयमा हेरेनन्, अब यहाँ बस्नै मन छैन, कोरोनाको डरभन्दा पनि भोकको डर ठूलो भइसक्यो”, पसिनाले लपक्कै भिजेको निधार पुछ्दै उनले भने, “धुलोमा खेलेर हामीले धेरैका घर बनायौँ, धेरैका सपना साकार बनाइदिऔँ, साहुहरुलाई थप धनी बनाइदियौँ, तर हामीलाई विपद्को समयमा हेरिदिने कोही भएनन् ।”

गत चैत १७ गते सोही उद्योगमा काम गर्ने उनका केही सहकर्मी घर गए । कोरोनाको कहरसँग लड्नका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि उद्योगमा कुनै पालना गरिएको छैन । “घर जान पाए खोले, आटो पीठो भए पनि खान पाउँथ्यौँ, हामी त यहाँ भोकै मर्ने भयौ”, टकीकाबहादुर खड्गीको पनि उस्तै गुनासो छ ।

“पैसा पनि छैन, सातु चामल किनेर ल्याउन पनि, बजारमा जान पनि पाइँदैन, लकडाउनमा सुरक्षार्कीले जान दिँदैनन्, कि त घर जाने वातावरण बनाइदिनुप-यो, कि त यहाँ बस्ने वातावरण बानइदिनुप-यो”, खड्गीले भने ।

सर्लाहीका प्रेम थापालाई पनि आगामी दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको छ । छोरा छोरीसहित भट्टामा बस्दै आउनुभएका थापालाई कोही कसैले राहत दिए, आफूहरुको प्राण धानिथ्यो कि भन्ने लागेको छ । भट्टा सञ्चालकले हप्तामा दिने रु एक हजारले केही नहुने र घर पठादेऊ भनेको लामो समय भए पनि कोही कसैले नसुनेको भन्दै थापाले आक्रोश व्यक्त गरे ।

सरकारले जुन स्थानमा बसेको छ, त्यही बस्नुपर्छ भन्ने थाहा पाएका थापा भन्छन्, “त्यसो भए साहुहरुले हामीलाई जीवन धान्ने वातावरण त बनाइदिनुप-यो नी ।” रामहरि भुजेलको पनि उस्तै पीडा छ । क्षयरोगका बिरामी भुजेलले नियमित औषधि नपाएको पनि १५ दिन भएछ । “औषधि लिन जान पाएको छैन, भट्टा सञ्चालकलाई दशौँ पटक भने पनि सुनुवाइ भएको छैन”, भुजेलले भने, “म जस्ता रोगीका लागि केही त पहल गरिदिनुप-यो ।”

उद्योग परिसरमा बसे पनि आफूहरु जेलमा बसेको जस्तो लागेको भुजेलको भनाइ छ । “कोरोनाले होइन, भोकले पो मार्ला जस्तो भयो, हाम्रा लागि केही उपाय छ त ? सर”, भुजेलले भने । प्रेमबहादुर काफ्ले पनि उद्योगमा इँटा बनाउने काम गर्छन् । काम पनि छैन । पैसा पनि छैन । अब कसरी प्राण धान्ने भन्ने चिन्ताले सताएको छ काफ्लेलाई । इँटा बोकेका खच्चडले उडाउने धुलो जस्तै ती मजदूरको भावना उडिरहेको छ । ती मानव हुन् र उनीहरुलाई भोक लाग्छ, उनीहरुलाई पनि पीडा हुन्छ भन्ने उद्योग सञ्चालकले बुझेका छैनन् । करिब ४०० मजदूर भट्टामा कार्यरत छन् । सर्लाही, काभ्रेपलाञ्चोक, रामेछाप, रोल्पा, सल्यान र नेपालगञ्जका कामदार कार्यरत छन् । यस्तै भारतबाट आएका पनि उद्योगमा कार्यरत छन् ।

जावेद कजगर नेपालगञ्जबाट आउनुभएको हो । खच्चडमा इँटा बोक्ने उहाँको दैनिकी थियो । “घर जान पाए हुन्थ्यो, भोकले मार्ने भयो, सरकार, साहुजीहरुले हाम्रा कुरा सुनेनन्, हाम्रो पीडा कसले सुनिदिन्छ ?”, उनले भने । रोल्पाका देउसरा बुढालाई पनि कोरोनालेभन्दा पनि भोकले सताएको छ । विगत दुई वर्षदेखि सो भट्टामा इँटा बनाउँदै आउनुभएका बुढालाई घर जान पाए हुन्थ्यो, जस्तो लागेको छ । तर, अवस्था त्यस्तो छैन । खाने सामल कसले देला भन्ने मात्रै चिन्ता छ उनलाई ।

सुरज चौपाल भारतीय नागरिक हुन् । चन्द्र शेखर दास पनि उतैका हुन् । इँटाको भट्टीमा काम गर्ने उनहरुलाई पनि आफ्नो मुलुकमा कोरोनाले असर पारे पनि नेपाल अझै सुरक्षित लागेको छ । “यहाँ धेरै सुरक्षित छ, तर भोकले दिने पीडा भने धेरै भयावह छ, हामी पनि मान्छौँ, भोक लाग्छ भन्ने कुरा कस्ले सुनिदेला र खै ?”, दासले भने ।

इँटा उद्योगका छ जना सञ्चालकमध्ये एक बेखा देसार मजदूरले उठाएको माग जायज रहेको बताए । “हामीले केही जो हो त गरेका छौँ, सवारी साधन नचल्दा खाद्यान्न ल्याउन सकिएको छैन । हामी पहल गर्दैर्छौं”, उनले भने, “हामीले सकेजति गर्छौं, स्थानीय वडा कार्यालयलाई पनि आवश्यक वातावरण बनाइदिन भनेका छौँ ।” मजदूरहरुलाई समस्या नपार्ने उनको भनाइ छ । “हामी आफैँ पनि समस्यामा परेका छौँ, उनीहरुलाई पनि हाम्रो समस्या थाहा छ, कुनै न कुनै व्यवस्थापन गरौँला र गरिरहेका छौँ”, देसारले भने ।

गोदावरी नगरपालिका– १३ का वडाध्यक्ष भास्कर थापाका अनुसार उद्योगमा काम गर्ने मजदूरको प्रबन्ध गर्ने जिम्मेवारी उद्योग सञ्चालकको नै हो । “सञ्चालकले अरु बेला कमाउने, विपद्का बेलामा मजदूर भोकै राख्न पाउँदैनन्, कुनै पनि मजदूर उद्योगमा भोकै रहेको जानकारी आए उद्योग सञ्चालक कारवाहीमा पर्छन्”, उनले भने ।

सोही वडामा मात्रै पाँच इँटाभट्टा छन् । ती सबैमा एकै प्रकारको समस्या छ । उद्योग सञ्चालक सकेसम्म मजदूरको सम्पर्कमा नै आउन नचाहने, आइहाले पनि बहाना बनाएर पन्छने गरेका छन् । अध्यक्ष थापाले भने, “त्यस्ता गुनासा आएका छन्, मजदूरलाई समस्यामा पारे भने हामी ती उद्योग सञ्चालकलाई कारवाही गर्नुको विकल्प हुँदैन ।” (रासस)

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : चालू आर्थिक वर्षका लागि तोकिएको राजस्व लक्ष्य पुरा हुने गरी काम गर्न सरोकारवाला

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता

ताप्लेजुङ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार ताप्लेजुङको घुन्सा आइपुगेका छन् । घुन्सा फाउण्डेसनले निर्माण

झापा : दमक नगरपालिका–१ का चुडामणि भण्डारीले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

काठमाडौं : कक्षा १२ को परीक्षा दिन लागेका विद्यार्थीहरुलाई ढुक्क भएर परीक्षा दिन शिक्षामन्त्री गिरिराजमणि

काठमाडौं : जल तथा मौसम पूर्वानुमान महाशाखाले पहाडी तथा हिमाली क्षेत्रमा सोमबार आंशिकदेखि सामान्य बदली

पर्सा– मुकेश चौरासियाको हत्यामा संलग्न मुख्य आरोपीलाई जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको छ ।

काठमाडौं : भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसिर ११ गते नेपाल भ्रमणमा आउन लागेका छन्

एजेन्सी : महात्मा गान्धीले लगाएको घडी १२ हजार पाउण्ड अर्थात झण्डै १८ लाख रुपैयाँमा बिक्री

काठमाडौं : सरकारले बलात्कारका घटनामा मिलापत्र गराउनेहरुलाई फौजदारी अपराधमा कारबाही गर्न आध्यादेश ल्याएको छ ।

काठमाडौं : बालुवाटार जग्गा प्रकरणमा पूर्व-प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध परेको रिटमाथि आज

काठमाडौं : जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशको पहाडी भूभागमा आंशिक