बारीमा कुहिँदै तरकारी



सुनसरी : सुनसरी सदरमुकाम इनरुवा–२ का कृषक लखन मेहताले पाँच कठ्ठामा टमाटर, एक कठ्ठामा खुर्सानी र १० कठ्ठामा बन्दागोभी खेती गरेका छन । छिमेकीबाट पाँच प्रतिशत ब्याजमा रु चार लाख ऋण लिएर उनले तरकारी खेती गरेका हुन । आफ्नो खेतबारी उत्पादन भएको तरकारीबाट अहिलेसम्ममा रु पाँच हजार मात्र आम्दनी भएको उनको भनाइ छ ।

कोभिड–१९ बाट बच्नका लागि सरकारले गरेको लकडाउनका कारण कृषक घरबाट बाहिर निस्कन नपाएपछि उत्पादित तरकारी खेतबारीमै कुहिने गरेको मेहताले बताए ।

इनरुवा–२ कै रामचन्द्र मेहताले समेत रु तीन लाख छिमेकीबाट ऋण लिएर व्यावसायिक तरकारी खेती गरे । उनको पनि तरकारी बिक्री नभएर खेतमै कुहिन थालेपछि चिन्ताले सताएको छ ।

उनीहरु जस्तै सुनसरीका थुप्रै कृषकको समस्या यस्तै छ । तरकारी बिक्रीवितरणका लागि थोक हाटबजार नलागेको, सानासाना बजारसमेत बन्द भएको र तरकारी लिएर घर बाहिर निस्कँदा प्रहरीले धरपकड गर्ने गरेका कारण झन् तनाव भएको कृषकले बताएका छन् ।

लकडाउनका बेला सरकारले बिहान र बेलुका गरेर कम्तीमा दुई घण्टाका दरले थोकमा उत्पादित तरकारीको बिक्रीवितरण गर्ने वातावरण बनाइदिनुपर्ने कृषकले माग गरेका छन् । जिल्लामा वार्षिक रुपमा एक हजार दुई सय बिघामा तरकारी खेती हुँदै आएको कृषि ज्ञानकेन्द्र इनरुवाका प्रमुख नुनुलाल उराँवले बताए । कृषकलाई भीडभाड नगरी एउटाएउटा गरेर गाडीमा राखी बिक्रीवितरण गर्नका लागि छुट दिइएको प्रदेश नं १, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालया प्रवक्ता डा राजेन्द्र उप्रेतीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्