लकडाउनको २६ औँ दिन । गत चैत ११ गतेदेखि शुरु भएको बन्दाबन्दी आज २६ दिनसम्म आएपुग्दा धेरैले समाचार सम्प्रेषण भयो । सरकारले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि गरेको धेरै प्रयासदेखि रातह वितरणको लागि गरेको निर्णयहरु पनि समाचारको माध्यमबाट आम जनमानसमा सम्प्रेषण गरियो र गर्ने प्रयास अझै रोकिएको छैन ।
लकडाउनको २६ दिनसम्म आइपुग्दा महलमा बस्ने र निजी गाडीमा गुड्नेलाई त खासै फरक परेको देखिएन । कति राजनीतिक दलले त भाषणमै भएपनि मजदुर प्रति साहानुभूति दर्शाए पनि ।
हरेक वर्ष मे १ मा ठूला–ठूला भाषण गरेर श्रमिक दिवस मनाउने राजनीति दलका नेताहरु कहाँ छन् ? भाषण गरेर श्रमिको समस्या समाधान हुँदैन सरकार ? त्यसलाई आत्मसाथ गर्नु सिक्नुपर्छ । सायद हाम्रो मन्त्री र नेतामा श्रमिकको मूल्य मे १ मा मात्र हुने अहिलेको विशम परिस्थितिले छर्लङ पारेको छ ।
काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाबाट पृथ्वीराजमार्गमा वैशाख महिनाको मध्याह्नको चर्को घामले तातिएको सडकमा पैताला खियाउँदै, पसिना बगाउँदै हिँडिरहेका यी मजदुरको लावालस्कर तराई झरेका मजदुरका पीडा यत्तिबेला शब्दमा लेख्न र भावमा अनुभूति गर्न सायद कठिन छ ।
न गाँसको ठेगान न बाँसको । खाँधमा साना नानी अनि पिँढ्युमा बन्दबस्तीका केही सामान बोकेर आफ्नो गन्तव्यतर्फ पैदल पाइला चालिरहेका छन्–मजदुर वर्ग ।
कोरोनाभाइरस (कोभिड–१९)को रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनको समयावधी लम्ब्याउदै लगेपछि त्यसको प्रत्यक्ष मारमा दैनिक ज्यालादारी गरेर दैनिकी चलाउने मजदुर परेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, गोरखा, लम्जुङ, धादिङ र रसुवाका पुनर्निर्माणलगायत विभिन्न इँटभट्टामा मजदुर गर्ने यतिबेला पृथ्वीराजमार्ग हुँदै लकडाउनले दिएको भोक भर्न तराई झरिरहेका छन् ।
युवा, बालबच्च, गर्भवती, वृद्धावृद्धा र असक्त समेत तातो सडकमा खुट्टामा फोका उठाउँदै सयौं किलोमिटर पैदल पार गर्दै छन् ।
यो संघर्षपूण यात्रा र मजदुरको पक्षमा बोल्नेको कमि छैन । तर, मानवीय संवेदनामाथि बोल्नै नचाहने सरकारप्रति विभिन्न टिकाटिप्पणी भएरहेका छन् ।
यो लकडाउनले दिएको यथार्थ सुन्नेलाई भन्दा देख्नेलाई र देख्नेलाई भन्दा भोग्नेलाई थाहा हुन्छ यसको दर्दनाक ।
लकडाउन लम्बिदै जादा काठमाडौं बसेर दैनिक गुजारा चलाउन नसक्ने अवस्थामा भएपछि उनीहरु हप्ता दश दिन लगाएर आफ्नो गाउँ फर्किन बाध्य भएका छन् ।
काठमाडौंबाट सिन्धुलीका लागि हुने एक मजदुर भन्छन्–‘काठमाडौंमा खान र बस्न अभाव भएपछि आफ्नौ गाउँतर्फ हिँडेर जान लागेका हौं ।’
खान लगाउन अभाव भएको बताउँदै काठमाडौंमा मजदुरी गर्दै आएका सिन्धुलीका साइराम माझी भन्छन्–‘रातहको बन्दोबस्त पनि छैन । भोकै मर्नुभन्दा पैदल नै हिँडेर गाउँतर्फ लाग्न बसे भन्ने सोँचेर हिँडेका हौं ।’
अर्का इँटाभट्टामा काम गर्ने सुकुमाया माझी केही खान नपाएर हिँडेको बताउँछिन् । उनी भन्छिन्–‘सरकारले राहत वितरण गरेको भन्छन् । तर, खै हामीले राहत पाएनौं । भोकै मर्नुको साटो हिँडेर जाँऔं भनेर लागेर हिँडेका हौं ।’
उनी तीन दिनभित्र सिन्धुली पुग्ने गरि हिँडेको बताउँछिन् । तर, काठमाडौंबाट सिन्धुलीसम्म पैदल पुग्न करिब ५ दिन लाग्ने बताउँछिन् ।
त्यस्तै दाङ देउखुरीका घनश्याम चौधरी सिन्धुपाल्चोकको बाह्रबिसेबाट हिँडेका हुन् । ३० चैतमा बाह्रबिसेबाट हिँडेका चौधरीले बाटैमा नयाँ वर्ष आएको पत्तो नपाएको बताए ।
उनी थप्दै भन्छन्–‘हाम्रो लागि सरकार रहेनछ ।’
तर, दैनिक हजारौं मजदुरले काठमाडौं छोड्दै पैदल यात्रा गर्दै छन् । यी त प्रतिनिधि दृश्य मात्र हुन् ।
यसले पूर्वाधार निमार्णमा महत्वपूर्ण निर्वाह गर्ने मजदुर वर्गप्रति सरकारको उदासिन्तालाई प्रष्ट पारेको छ ।
फोटो : विपिन थापा