सिंगापुरद्वारा नेपालसामु ८२ रनकाे लक्ष्य प्रस्तुत, सन्दीपले लिए ४ विकेट



काठमाडौं  : आईसीसी विश्वकप टी–२० एसिया उपक्षेत्रीय छनोटअन्तर्गत अन्तिम खेलमा नेपालले जितका लागि ८२ रनको लक्ष्य पाएको छ ।

 

मलेसियाको क्वालालाम्पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको सिंगापुर १७ ओभर ३ बलमा ८१ रन जोड्दा अलआउट भयो । 

 

सिंगापुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले ४, सोमपाल कामी र करण केसीले समान २ तथा वसन्त रेग्मी र ललितनारायण राजवंशीले १-१ विकेट लिए ।सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक २५ तथा मनप्रित सिंह र सिद्धान्तले समान १० रन जोड्नुबाहेक कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

 

नेपालले केहीबेरमा जवाफी लक्ष्य पछ्याउने छ । आजको विजेता प्रतियोगिताको विजेता बन्नेछ । नेपालको लक्ष्य आजको खेल जित्दै उपाधिसहित दोस्रो चरणमा पुग्नु छ ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा नेपालले असोज १७ मा म्यानमालाई जम्मा १८ बल खेलेर आठ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा २० गते मलेसिया, २१ गते थाइल्याण्ड, २३ गते भुटान, २४ गते चीनलाई पराजित गरेको थियो । 

 

यस समूहबाट नेपाल, सिंगापुर र मलेसिया अघिल्लो चरणमा प्रवेश गरेका छन् । यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट युएइ, कतार र कुवेत दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

 

दोस्रो चरणमा युएई, कतार र कुवेतसँगै नेपाल, मलेसिया र सिंगापुर गरी छ टोलीबीच प्रतिस्पर्धा हुनेछ । छ टोलीबीचको प्रतिस्पर्धाबाट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुने र १४ मध्ये छ टोली टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्