८ जना कोरोना आशंकीतलाई धरानस्थित बीपी प्रतिष्ठान लगिदै



उदयपुर : भुल्केबाट परीक्षणका लागि शनिबार कोसी अस्पताल विराटनगर ल्याइएका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमणको आशंका गरिएको छ ।

मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि ल्याइएको थियो । उदयपुरको भुल्केमा कोभिड परीक्षणका लागि स्थानीयको स्वाब नमुना संकलन गरिदै ।

तीमध्ये ८ जनाको नमुना परीक्षण गर्दा संक्रमण देखिएको अस्पताल स्रोतले बताएको छ । प्रष्ट गर्नका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण गरिने भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोर्होयाएर परीक्षण गर्न लागिएको हो । उनीहरु सबैलाई उदयपुरबाट एम्बुलेन्समा धरान पठाइएको छ ।

उदयपुरका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसीले दुईवटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको बताए । ‘सबै पुरुष हुन्,’ उनले भने, ‘उमेर ठ्याक्कै थाहा भएन तर जेष्ठ नागरिक हुन् । मस्जिदमा बसेकाहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो ।

नजिकै रहेको सेनाको गुल्मका सैनिकहरुको पनि नमुना संकलन गरी काठमाडौं लगिएको छ । यसअघि उक्त मस्दिमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरुलाई विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखेर उपचार गरिदैछ । उनीहरुसँगै ल्याइएका अरु ३ जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमित बसेकोलगायत उदयपुरका ६ वटै मस्जिद सिल गरिएको छ । भुल्के मस्जिद आसपासका ५२ परिवारका ६९ स्वाव संकलन गरी विराटनगर लगिएको थियो । शनिबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा उदपुर आएको चिकित्सक टोलीले मस्जिद आसपासका बासिन्दा स्वाब संकलन परिक्षणका लागि लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्