डिपिएल क्रिकेट : विजेताले ३० लाख पाउने



कैलाली : धनगढीको फाप्ला क्रिकेट मैदानमा माघ २६ गतेदेखि फागुन ११ गतेसम्म हुने रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) तेस्रो संस्करणको तयारी पूरा भएको छ ।

 

आयोजक धनगढी क्रिकेट एकेडेमीले बुधबार फाप्ला मैदानमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएको जनाएको हो । एकेडेमीका अध्यक्ष सुवाश शाहीले मैदान तथा प्राविधिक व्यवस्थापनका काम सम्पन्न भएको जानकारी दिए । मैदान तथा ५ वटा पिच निर्माण सम्पन्न भएको जानकारी दिँदै उनले प्रतियोगिता आयोजनाको लागि विभिन्न समितिमार्फत् भइरहेको बताए ।

 

प्रतियोगिताको पुरस्कारको पनि सार्वजनिक गरिएको छ । चालू वर्ष प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी पाउने भएको छ । गत वर्ष दोस्रो संस्करणको विजेतालाई २५ लाख रुपैयाँ पुरस्कार दिइएको थियो । मोफसलको प्रतियोगितामा यो मुलुकमै सबैभन्दा ठूलो धनराशीको पुरस्कार हो । 

 

यसैगरी, उपविजेताले १२ लाख, तेस्रो हुने टोलीले ४ लाख र चौथो हुने टोलीले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई गोल्डस्टार गोल्डेन स्पाइक सुनको जुत्ता प्रदान गरिने जनाइएको छ ।

 

हरेक खेलका म्यान अफ द म्याचलाई १५ हजार र छक्का क्याच गर्ने दर्शकलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष शाहीले बताए । प्रतियोगितामा धनगढी स्टार्स, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहने छ ।

 

यसैबीच अध्यक्ष शाहीले डेढ दशकपछि विश्वकप क्रिकेटको ट्रफी नेपाल भित्र्याउने ठोकुवा गरे । खेलकुदकै माध्यमबाट धनगढी शहरलाई चिनाउने उद्देश्यले १ दशक पहिले क्रिकेट प्रतियोगिता सुरू गरेको सुनाउँदै अध्यक्ष शाहीले अब क्रिकेटकै माध्यमबाट नेपाललाई नै विश्वमा चिनाउने उद्देश्य रहेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्