भारतले ल्यायो अध्यादेश : स्वास्थ्यकर्मीलाई आक्रमण गरे ५ लाख जरिवाना, ७ वर्ष जेल



दिल्ली : भारत सरकारले स्वास्थ्यकर्मीको सुरक्षाका लागि नयाँ अध्यादेश ल्याएको छ ।

बुधबार संचार तथा प्रसारण मन्त्री प्रकाश जावाडेकरले स्वास्थ्यकर्मीमाथिको आक्रमण असह्य हुने भन्दै आध्यादेश ल्याएको बताएका छन् ।

उनले भने,‘महामारी रोग कानुनसम्बन्धी अध्यादेश क्याबिनेटले पास गरिसकेको छ । राष्ट्रपति प्रमाणीकरण गरेसँगै यो कार्यान्वयनमा आउँछ ।’ अध्यादेश कार्यान्वयन भएसँगै स्वास्थ्यकर्मीमाथि आक्रमण गरे दुई देखि पाँच लाखसम्म जरिवाना तिराइने र ७ वर्षसम्म जेल सजाय हुन सक्ने छ ।

‘यसको अनुसन्धान ३० दिनमा सकिन्छ । यसमा दुई लाख जरिवाना तिराइनेछ,’ उनले भने,’ गम्भीर घटना भए ७ वर्षसम्म जेल र ५ लाख जरिवाना तिराइनेछ ।’ पछिल्लो समय भारतमा कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण बढेको थियो ।
घटना बाहिरिन थालेपछि सरकारले अध्यादेश ल्याएको हो ।

गृहमन्त्री अमित शाह र इण्डिया मेडिकल एसोसियसनबीच बैठक बसेपछि अध्यादेश ल्याइएको हो । सरकारले सुरक्षाका लागि केही कानुन नल्याए स्वास्थ्यकर्मीले अप्रिल २३ तारिख कालो दिनका रूपमा मनाउने चेतावनी दिएका थिए । भारतम बुधबारसम्म २० हजार बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६४५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्