वीरगन्जमा नेवि संघको प्रदर्शन



वीरगन्ज : सरकारले ल्याएको अध्यादेशको विरोध गर्दै काँग्रेस निकट नेपाल विद्यार्थी संघ पर्साले वीरगन्जमा विरोध प्रदर्शन गरेको छ ।

लकडाउन र समाजिक दुरीको पालना गर्दै नेवि संघले वीरगन्जको घण्टाघर चोकमा सरकार विरुद्ध सांकेतिक विरोध लगाउँदै अध्यादेश खारेजीको माँग गरेको हो ।

अहिले नेपाली जनतालाई अध्यादेशको आवश्यकता छैन, कोरोनाको संक्रमणबाट बच्नु नै पहिलो प्राथमिकता भएकोले सरकारले ल्याएको अध्यादेश लोकतन्त्र र सविधान विरोधी भएकोले तुरुन्त खारेज गरेर जनतालाई राहत पु¥याउँन माँग नेवि संघले गरेको हो ।

घण्टाघर चौकमा आयोजित विरोध प्रदर्शनमा सहभागिता नेवि संघका युवा नेताहरुले बिवादस्पद अध्यादेश खारेज गर, जनताको जीवन रक्षामा ध्यान केन्द्रित गरेर काम गर, सरकारको आसमा नरहौं घरमा बसी सुरक्षित रहौं, निरंकुशतन्त्र मुर्दावाद लगायत नारा लेखिएको प्लेकार्ड देखाउँदै सांकेतिक रुपमा विरोध लगाएका हुन् ।

विरोध प्रर्दशनलाई सम्बोधित गर्दै नेवि संघका जिल्ला अध्यक्ष विकास तिवारीले अहिले जनतालाई अध्यादेशको आवश्यकता छैन् विश्वभरी फैलिएको कोरोनाको संक्रमणबाट आफनो जनताको सुरक्षा गर्न आवश्यक रहेकोले यसमा ध्यान केन्द्रित गरेर अगाडी बढ्न सरकारलाई सुझाव दिए ।

उनले भने, कोरोनाबाट बाँचे मात्र राजनितिक, सत्ता, सुख, सुविधा भोग्न सकिन्छ, जनतै नरहे के काम सुविधा सम्पन्न जिवन त्यसैले यसको रोकथाम तथा नियन्त्रणमा सरकार लाग्नुपर्ने छ । अर्को प्रसंगमा जिल्ला अध्यक्ष तिवारीले वीरगन्जमा छुट्टै कोरोना विशेष अस्पताल संचालन गरी एक मात्र सरकारी अस्पताल नारायणी अस्पतालको सम्पूर्ण सेवा यथाशिघ्र संचालनमा ल्याउन माँग गरे ।

उनले भने, नारायणी अस्पतालबाट पर्सा, बारा, रौतहट र सर्लाहीका सर्वसाधारण जनताले सुविधा लिने गरेको छ, तर यहाँको सम्पूर्ण सेवा बन्द भएपछि चर्को शुल्क तिरेर निजि अस्पतालमा उपचार गराउन बाध्य छन् ।

अध्यक्ष तिवारीले भने, हाम्रो मुलुकमा जनताको सरकार भएको अनुभुति हुन सकेको छैन, जनता प्रति उत्तरदायित्व बनी सरकारले यथाशिघ्र सरकारी अस्पतालको सेवा सुविधा संचालनमा ल्याई आमजनताको सरकार पनि रहेको अनुभुति दिलाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्