सुदूरपश्चिमका स्वास्थ्य निर्देशकद्वारा दुर्गमका डाक्टरलाई धम्की



धनगढी : सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर गुणराज अवस्थी दुर्गममा सेवारत डाक्टरलाई धम्की दिएका छन् ।

छात्रवृत्तिमा अध्ययन गरेका आफ्ना छोरालाई प्रदेशको सबैभन्दा सुगम जिल्ला कैलालीमा खटाउन लविङ गरेका डाक्टर अवस्थीले सबैभन्दा दुर्गममा रहेको बाजुरामा कार्यरत डाक्टरलाई धम्की दिएका हुन् ।

उनले शुक्रवार मात्रै संघीय स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाउँदै बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा कुनै पनि चिकित्सक जान नमानेको भन्दै आफूलाई कामकाजका लागि खटाइ दिन अनुरोध गरेका छन् । कोल्टीबाट चिकित्सकको माग भई आएपछि निर्देशनालयले जिल्ला अस्पताल बाजुरामा कार्यरत डाक्टर राजुराज जैशीलाई खटाएको तर उनले निर्देशनालयको निर्देशनको अवज्ञा गरेको भन्दै डा.अवस्थीले आफैलाई सो क्षेत्रमा खटाई दिन अनुरोध गरेका हुन् ।

आफैलाई खटाउन आग्रह गरेका उनले भने छात्रवृत्तिमा अध्ययन गरेका आफ्ना छोरा सचिन अवस्थीलाई कैलालीको जोशीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाउन स्वास्थ्य सेवा विभागमा लविङ गरेका थिए । जोशीपुरमा एक जनाको मात्रै दरबन्दी रहेकोमा उक्त दरबन्दीमा डा.दीपक जोशी कार्यरत थिए ।

तर छात्रवृत्ति करारमा डाक्टर अवस्थीका छोरा पनि जोशीपुरमै खटाईएको थियो । उता डाक्टर जैशी भने छात्रवृत्ति करारमै बाजुरा जिल्ला अस्पतालमा विगत एक वर्षदेखि नै कार्यरत छन् । उनलाई निर्देशनालयले अघिल्लो शनिवार २४ घण्टा भित्रै कोल्टीमा हाजिर हुन निर्देशन दिएको थियो ।

जैशीले भने, ‘मसंग एक पटक छलफलसमेत नगरी २४ घण्टे पत्र आयो, २४ घण्टा भित्रै उपस्थित हुने अवस्था थिएन् । लकडाउनले सवारी साधन सञ्चालन भएका छैनन् । सबै व्यवस्थापन गर्न ढिलो भयो, म जाने तयारीमै थिए ।’ जिल्ला अस्पतालका डाक्टर रुपचन्द्र विश्वकर्माका अनुसार डा.जैशीले कोल्टी जानका लागि तयारी गरिसकेका थिए ।

उनले भने, ‘अहिले विभिन्न सञ्चार माध्यममा डा.जैशीले अवज्ञा गरेको कुरा आईरहेको छ । अव के हुन्छ थाहा भएन् ।’ डाक्टर जैशी र निर्देशकका छोरा डाक्टर अवस्थी दुबै अहिले छात्रवृत्ति करारमै छन् । सुदूरपश्चिममै कार्यरत एक जना डाक्टरले भने, ‘निर्देशक ज्यूले आफैले बाजुरामा खटिनु भन्दा आफ्नै छोरालाई खटाए पनि भईहाल्यो नि । किन चर्चामा आउने प्रयास गरिदैछ ।’ डा.अवस्थीले भने आफू कानुन अनुसार काम गरिरहेको भन्दैै प्रतिक्रीया नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्