विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नजिक, कति संक्रमित?



काठमाडौं : विश्व महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंले बढिरहेको छ ।

यो समाचार तयार पार्दासम्म कोरोना संक्रमणबाट विश्वभर एक लाख ९८ हजार ५५३ जनाको मृत्यु भएको छ । संक्रमण फैलिएका २ सयभन्दा बढी मुलुकमा संक्रमितको संख्या भने २८ लाख ५५ हजार ६९४ पुगेको छ । संक्रमितमध्ये आठ लाख १५ हजार ७५५ जना उपचारपछि निको भएका छन् ।

मृत्यु हुनेको संख्या बढ्दो क्रममा रहे पनि संक्रमणपछि निको हुने दर ठूलो रहेको देखाउँछ।संक्रमण फैलिएका मुलुकहरुमध्ये सबैभन्दा बढी प्रभावित अमेरिकामा ९ लाख २६ हजार ५३० जना संक्रमित हुँदा ५२ हजार २४३ जनाको मृत्यु भएको छ ।

यस्तै, युरोपेली मुलुक स्पेनमा कुल संक्रमित २ लाख २३ हजार ७५९ मध्ये २२ हजार ९०२ को मृत्यु भएको छ। यस्तै, अर्को प्रभावित मुलुक इटालीमा कुल संक्रमित १ लाख ९२ हजार ९९४ मध्ये २५ हजार ९६९ को मृत्यु भएको छ।

त्यस्तै फ्रान्समा अहिलेसम्म २२ हजार २४५ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ५९ हजार ८२८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
जर्मनीमा एक लाख ५५ हजार ५५ जना संक्रमित भएका छन् । मृतकको संख्या पाँच हजार ७८८ पुगेको छ ।

यस्तै, बेलायतमा एक लाख ४३ हजार ४६४ जना संक्रमित हुँदा १९ हजार ५०६ जनाको मृत्यु भएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ४ हजार ६ सय ३२ पुगेको छ । भारतमा २४ हजार ९४२ जना संक्रमित हुँदा ७८१ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा संक्रमितको संख्या १२ हजार २२७ पुग्दा २८३ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्