सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस, ३ वर्ष कैद र १५ लाख बिगो मागदाबी



काठमाडौं : थर्मल गनमा कालोबजारी गरेको अभियोगम गत चैत २५ गते पक्राउ परेको व्यवसायी सुलभ अग्रवालविरुद्ध ४ वटा कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस पगरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले ६७ थान थर्मल गनसहित नक्सालबाट पक्राउ परेका अग्रवालविरुद्ध कालोबजारी, अवैध भण्डारण तथा नाफाखोरी र कृत्रिम अभाव सिर्जना र सार्वजनिक पदको दुरुपयोग गरेका ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरेको हो ।

जसअनुसार १५ लाख ७८ रुपैयाँ बिगो र ३ वर्ष कैद तथा सार्वजनिक पद धारण गरेको अवस्थामा अपराध भएकोमा थप डेढी (कसूरको गम्भीरता बढाउने वा घटाउने अवस्था विश्लेषण गर्ने) सजाय मागदाबी गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले आरोपित अग्रवालविरुद्धको अनुसन्धान सकिएको र ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको बताए ।

एसपी राठौरका अनुसार अग्रवालविरुद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ को दफा २ (क), दफा ३ (१), दफा ५ र मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को एउटा दफा गरी ४ वटा कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । पदको दुरुपयोग गरी अपराध गरेको कसुरमा मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ को परिच्छेद २ को दफा १५ को उपदफा २ अनुसार पनि मुद्दा चलाउन माग गरिएको हो ।

मुलुकी फौजदारी सजाय निर्धारण तथा कार्यान्वयन २०७४ अनुसार सार्वजनिक पदको दुरुपयोग गरी कसुर गर्ने व्यक्तिलाई कसुरमा हुने सजायको थप डेढी सजाय गरिने व्यवस्था छ ।
प्रहरी अनुसन्धानको थप अध्ययन गरेर सरकारी वकिलको कार्यालयले अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा दर्ता गर्ने छ ।

कालोबजारीविरुद्धको ऐनको दफा २ (क) मा सरकारले मोल निर्धारण गरिदिएकोमा सो मोलमा र मोल निर्धारण नगरेकोमा राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएको माल बस्तुको मोलभन्दा बढी लिएर सामान बिक्री गरेमा बरामद सामान जफत गरी आरोपितलाई एक वर्षसम्म कैद र दश लाख रुपैयाँसम्म जरिवानासमेत हुने उल्लेख छ।

त्यस्तै दफा ३ को उपदफा १ मा सयकडा २० भन्दा बढी मुनाफा लिएमा वा अभावको लाभ उठाइ नाफा लिई बिक्री गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ । सोही ऐनको दफा दफा ५ अनुसार कुनै मालबस्तुको मूल्य वृद्धि गराई अनुचित नाफा लिई बस्तु संग्रह गरी बिक्री नगरी जम्माखोरी गरेमा १ वर्ष कैद वा २ लाख ५० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्छ ।

नेपालका लागि किर्गिस्तानका अवैतनिक दूत समेत रहेका अग्रवालले चीनबाट ३ हजारमा खरिद गरेको थर्मल गन नेपालमा १५ देखि २० हजार रुपैयाँसम्म लिएर उनले बिक्री गर्दै आएका थिए । उनले थर्मल गनको कालोबजारीमाका लागि कूटनीतिक सुविधाबापत लिएको गाडीसमेत प्रयोग गरेका थिए । उनले चढेको गाडी अहिले प्रहरी नियन्त्रणमा छ ।

प्रतिक्रिया दिनुहोस्