बारीमै कुहियो तरकारी



नेपालगञ्ज: (कोभिड-१९) को जोखिम हुन नदिन लकडाउन जारी रहेको छ । हुने खानेलाई पनि साँझ बिहान खानको जोहो गर्न मुस्किल पर्न थालिसकेको छ ।

किसानले उत्पादन गरेका कृषि वस्तु थन्क्याउन समस्या परेको छ । उत्पादित तरकारी भने बिक्री नभएपछि बारीमै कुहिन थालेको छ, बन्दाबन्दी लम्बिदै जाँदा किसानको बारीमा लगाएको तरकारी बिक्री नभएपछि बारीमै कुहिन थालेको हो ।

बन्दाबन्दीका कारण बारीमा लगाएको तरकारी बिक्री नहुँदा किसान चिन्तित छन् । बारीमा लगाएको ७० प्रतिशत तरकारी बारीमै कुहिएको छ । बिक्री नभएर बारीमै तरकारी कुहिएपछि नष्ट गर्नुको विकल्प नभएको किसान बताउँ छन् । नेपालगञ्ज उपमहानगरपालिका-१६ जयसपुरका किसानले उत्पादन गरेको बन्दा बिक्री नभएपछि नष्ट गरेका छन् ।

बाली विकास कृषक समूहले १० बिगाह क्षेत्रमा लगाएको बन्दा बारीमै कुहिएपछि तरकारी बेचेर गुजारा गर्दै आएका किसान चिन्तित बनेका छन् । जैसपुरमा उनीहरुले २० बिगाहमा तरकारी खेती गर्दै आएका किसानले १० बिगाह क्षेत्रफलमा बन्दा लगाएका थिए । समूहको एक हजार क्विन्टल बन्दा खेतमा छ, जो सबै कुहिने अवस्थामा छन् । “१० लाख लगानी गरेका किसानले बन्दा बिक्री गरेर रु २० लाख आम्दानी हुने अनुमान थियो”, समूहका कोषाध्यक्ष महयादिन कवडिया बताए ।

उनका अनुसार उत्पादित बन्दाले बजार पाउन नसकेपछि नष्ट गर्नुपर्ने बाध्यता भयो । उनले बुटवल, सुर्खेत, कोहलपुर, खजुरा र नेपालगञ्जका सब्जी मण्डीमा तरकारी पु¥याउन नसकेको बताए । “बन्दा बिक्री गर्नका लागि निकै पहल भयो, तर माग नै आउँदैन”, उनले भने । “बन्दा बिक्री गर्न लैजाँदा अवरोध भएपछि निरास भएका छौँ ।”

बाली विकास कृषक समूहमा १५ जना सदस्य छन् । आफूहरुले कृषि पेशाबाटै परिवारको गुजारा गर्दै आएको समूहका सदस्य मुनिर अहमद राईले बताए । “बन्दाबन्दीले हाम्रो बिचल्ली बनायो । चाउमिन, मः म पसललगायत नास्ता पसल तथा होटेल पूर्णरुपमा बन्द भएपछि मागमा शून्य छ”, सदस्य राईले भने ।

बन्दा तरकारीका रुपमा भन्दा बढी चाउमिन, मः म र पकौडामा प्रयोग बढी हुने गर्छ । सदस्य राईका अनुसार बन्दाबन्दीका कारण नास्ता पसल तथा होटेल पूर्णरुपमा बन्द भएपछि उत्पादन भएको बन्दा बारीमै नष्ट गर्नु परेको छ । जयसपुरका किसानले २० बिघामध्ये १० बिघामा मकै, साग, भान्टा, गोलभेँडा, खुर्सानी, लौका, काँक्रालगायतका खेती गरेका छन् ।

“हाम्रो त बर्बाद नै भयौ, बन्दा बारीमै कुहियो । यस्तो अवस्थामा सरकारले हाम्रो समस्यालाई सम्बोधन गर्नुपर्ने हो । बिक्री गर्ने समयमा बारीमै कुहिनपछि हाम्रो बिचल्ली भयो”, समूहका सदस्य राईले भने । भारतबाट नियमित रुपमा तरकारी नेपाल भित्रिए पनि आफूले उत्पादन गरेको तरकारी खेतमै कुहाउनुपर्ने अवस्था आएको उनको गुनासो छ ।

बाँकेको खजुरा गाउँपालिका–२ का किसान लालबहादुर खत्री भारतबाट तरकारी भित्रिँदा यहाँका किसानलाई प्रत्यक्ष असर परिरहेको बताए । उनले आफ्नो बारीमा उत्पादन गरेको गोलभेँडा उपभोक्तासम्म पुर्याउन नसकेको गुनासो गरे । “खेतमै एक ठाउँमा टिपेर राखेका गोलभेँडा बिक्री गर्न कहाँ लैजाने भन्ने नै चुनौती छ”, किसान खत्रीले भने ।

गाउँ गाउँसम्म भारतीय तरकारी पुग्ने गरेको बताउँदै उनले भने,“बजारमा लैजाँदा भारतीय तरकारी भरिभराउ छ । बिक्री गर्ने स्थान पनि छैन । तरकारीमा औषधि पनि छर्कन सकिरहेका छैनौँ । दश कट्ठामा लगाइएको करेला फल्ने बेला औषधिको अभावले मरेको छ । बन्दाबन्दीपछि तरकारी बिक्री शून्यमा झरेको छ ।”

खजुरा ‘बी’ गाउँका किसान पदमबहादुर रानाले बन्दाबन्दीअघि दुई दिनको अन्तरमा झण्डै १२ क्विन्टलसम्म काँक्रा बिक्रीका लागि नेपालगञ्ज पठाउने गरे पनि अहिले बिक्री हुन छाडेको बताए । उनले भने,“बिक्री ह्वात्तै घट्यो ।” बिक्री नभएपछि काँक्रा बारीमै कुहिने अवस्थामा पुगेको किसान रानाले बताए । उनले उत्पादन भएको तरकारी सहज रुपमा बिक्री गर्न समस्या हुँदा किसान मारमा परेको बताए ।

बन्दाबन्दीका कारण तरकारी बिक्रीका लागि सवारी साधन पाउन मुस्किल हुने र पाए पनि अत्यन्तै महँगो भाडा तिर्नुपर्ने बाध्यता रहेकाले लगानीसमेत उठाउन गाह्रो भएको जानकी गाउँपालिकाका किसान सुरेन्द्र खड्काले बताए । जिल्लाभर पुग्ने तरकारी बाँकेमै अहिले उत्पादन भइरहेको किसानको दाबी छ । तर, तरकारी बिक्री नहुँदा गाईभैँसी तथा बङ्गुरलाई खुवाउनुपर्ने बाध्यता रहेको किसान बताउ छन् ।

उनका अनुसार गाउँमा उत्पादित कृषिजन्य वस्तु बिक्री वितरणका लागि स्थानीय सरकारले चासो नदिँदा किसान चिन्तित बनेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्