चोटपटक र घाइते बिरामीलाई ट्रमा सेन्टरको नियमित उपचार



काठमाडौं : राष्ट्रिय ट्रमा सेन्टरले कोभिड–१९ को अवधिमा नियमित सेवा सञ्चालन गरेको छ ।

सेन्टरले लकडाउनको समयमा सेन्टरमा आउने घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग तथा आकस्मिक सेवा प्रदान गरेको छ । ती बिरामीलाई कोभिड-१९ पोलिमरेज चेन रियाक्सन (पिसीआर) र ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) दुवै विधिबाट परीक्षण गरी उपचार गरिहेको सेन्टरका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेट डा.सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार अहिलेसम्म १ हजार २१० बिरामीको उपचार गरिएको छ । जसमध्ये १ हजार १४ अत्यावश्यक (इमर्जेन्सी सेवा) र २७५ जनालाई बहिरङ्ग सेवा प्रदान गरिएको छ । सेन्टरले १९२ जनाको साना शल्यक्रिया र १३० जनाको ठूलो शल्यक्रिया गरेको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा.पौडेलले लकडाउन भए पनि ७० प्रतिशत बिरामी उपचार गर्न सेन्टरमा आएको बताए । अन्य अस्पतालले चोटपटक र घाइते बिरामीलाई उपचार नगर्ने भएपछि सबै बिरामी सेन्टरमा आउने गरेको उनले बताए । उनका अनुसार सडक दुर्घटना नभए पनि अन्य कारणले घाइते भएका बिरामी आउने गरेको छन् ।

“अहिले अरु अस्पतालले चोटपटक र घाइतेका बिरामी नहेरेको अवस्थामा हामीले उपचार गरिरहेका छौँ”,उनले भने,“हामीले अस्पतालबाट रिफारिस भएका बिरामीको सेवा निरन्तर दिइरहेका छौँ ।” लकडाउनभन्दा अगाडि सेन्टरमा दैनिक ३५० बिरामीलाई बहिरङ्ग सेवा, ६० जनालाई इमर्जेन्सी सेवा र १५-२० जनाको शल्यक्रिया गर्ने गरेको थियो ।

उनले घाइते र चोटपटकका बिरामीलाई बहिरङ्ग सेवा दिनुअघि ज्वरो नाप्ने तथा कोभिड–१९ को आशंका लागेमा परीक्षणसमेत गरिने उनले जानकारी दिए । “उपचारका लागि सबै बिरामीको ज्वरो र कोभित-१९ आशंका लागेका बेला पिसीआर परीक्षण गरिरहेका छौँ”, उनले भने,“उपचारका लागि आएका बिरामीलाई फिर्ता नगरी उपचार गरेका छौँ ।”

सेन्टरमा आएकामध्ये कोभिड-१९ को आशंका लागेका ७ जनाको पिसीआर विधिबाट परीक्षण गर्दा संक्रमण नदेखिएको सुपरिटेन्डेन्ट डा पौडेलले जानकारी दिए । सेन्टरले उपचार गर्न आएका बिरामीलाई अवस्था हेरी शल्यक्रियासमेत गरेको छ । इलेक्टिभ (विस्तार गरिने शल्यक्रिया), अर्जेन्ट र इमर्जेन्सी तीन समूहमा विभाजन गरी शल्यक्रिया गरिएको उनले बताए ।

सेन्टरले अर्जेन्ट र इमर्जेन्सीका बिरामीलाई तत्काल शल्यक्रिया र इलेक्टिभ शल्यक्रियालाई पनि प्राथमिकताका आधारमा शल्यक्रिया गरिएको छ । सेन्टरमा अहिले वार्डमा सात र इमर्जेन्सी वार्डमा छ आइसोलेसन स्थापना गरिएको छ । सेन्टरले सम्भावित बिरामीलाई आइसोलेसनमा राखेर नै उपचार गरिरहेको छ । “सम्भावित बिरामीलाई शुरुमा आइसोलेसनमा राख्दछौँ”, उनले भने, “कोभिड-१९ को परीक्षण गरेपछि मात्र उक्त बिरामीको उपचार गर्दछौँ ।” सेन्टरमा सबै वार्डमा आइसोलेसन बनाएको छ ।

सम्भावित जोखिमलाई हेरेर सेन्टरमा रहेका जनशक्तिलाई विभिन्न समूहमा विभाजन गरी परिचालन गरेको छ । उनका अनुसार साप्ताहिकरूपमा स्वास्थ्यकर्मीलाई बिहान र बेलुका ड्युटी छुट्याइ काम गरिएको छ । “बिरामीमा कोरोना भाइरस देखिएमा सम्पूर्ण सेन्टर नै लकडाउन गर्नुपर्दछ । त्यसैले बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सेन्टर नै राखेर काम गराइरहेका छौँ”, उनले भने, “एउटा समूह अहिले सेन्टरमा बिरामीको उपचारमा संलग्न छ, अर्को बाहिर रहेको छ ।” उहाँले कोरोनाका बिरामीलाई उपचार गर्नका लागि स्वास्थ्यकर्मीलाई उपचारको प्रशिक्षण तालिमसमेत दिइएको जानकारी गराए ।

सेन्टरमा नै आउन नसक्ने बिरामीलाई फोनमार्फत सेवा दिइरहेको छ । ओपिडी सेवालाई प्रभावकारी बनाउन ०१-४२५२७५ र मोबाइल नं ९८४०८८३०५५ बाट सेवा दिइरहेको उनले जानकारी दिए । “बिरामीलाई केही कुरा फोनबाट सुल्झाएका छौँ र नसुल्झेका कुरालाई बिरामीलाई सेन्टरमा नै आउने भनेका छौँ”, उनले भने ।

भोलि बिरामीलाई सहज होस् भनेर अनलाइन टिकट र भिडियोबाट परामर्श दिने अवधारणा पनि सेन्टरले अगाडि सारेको छ । मेडिकल सुपरिटेन्डेन्ट डा.पौडेलले सम्भावितलाई ध्यानमा राखेर सेन्टरमा ७ भेन्टिलेटर तयारी अवस्था राखिएको बताए । कोभिड-१९ को संक्रमण तेस्रो तहलाई मध्यनजर गर्दै हामीले हाइडीपेडेन्सी युनिट बनाउन तयारी सेन्टर रहेको छ । सरकारले दुर्घटनाका बिरामीलाई उपचार गर्नका लागि वि.सं.२०७१ मा स्थापना भएको सेन्टरले स्थापना गरेको हो । रासस

प्रतिक्रिया दिनुहोस्