ओलीका दुई रणनीति



काठमाडौं : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीकै शीर्ष नेताबाट घेराबन्दी भएपछि उनले आफ्नो पक्षमा बहुमत जुटाउँने रणनीतिमा जुटेका छन् ।

मंगलबार प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा सांसदहरुलाई बोलाएर पार्टी र सरकारलाई एकताबद्ध रुपमा अगाडी बढाउनका लागि एकजुट हुन आवश्यक रहेको बताएका छन् । बालुवाटार पुगेका तत्कालिन माओवादी केन्द्रका एक सांसदले प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा रहेर सहयोग गर्नुपर्ने बताए ।

‘अहिले पार्टीकै शीर्ष नेताहरुबाट पुरै घेराबन्दी गर्ने काम भएको छ’ ओलीको भनाई उद्धृत गर्दै ति सांसदले भने, ‘सरकार र पार्टीलाई एकताबद्ध रुपमा अगाडी बढन तपाईहरुको सहयोग चाहिएको छ ।’

यसअघि प्रधानमन्त्री ओलीले सोमबार समेत आफू निकटका केही सांसदलाई बालुवाटर बोलाएर घेराबन्दी तोडन प्रतिकारमा उत्रन निर्देशन दिएका थिए । मंगलबार सामुहिक तथा छुट्टाछुट्टै सांसदलाई भेटदै ओलीले आफ्नो पक्षमा लाग्न आग्रह गरेका छन् ।

नेकपाको सर्वोच्च निकाय सचिवालय सहित स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलमा ओलीको बहुमत पुग्दैन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल अहिले एकजुट भएकाले बहुमत गुमाएका ओलीले उनीहरुको गठबन्धन तोड्ने प्रयासका साथै आफ्नो पक्षमा बहुमत जुटाउने प्रयासमा लागेका छन् ।

ओली पक्षबाट नेपाल अगामी पार्टी अध्यक्षका साथै अहिले तत्काल मन्त्री र मुख्यमन्त्री पद दिने प्रस्ताव भएको छ । तर, नेपाल पक्षले त्यसलाई अस्वीकार गर्दै बैठक बस्नुपर्ने अडानमा रहेको एक स्थायी कमिटी सदस्यले बताए ।

आफू कमजोर भएपछि प्रधानमन्त्री ओली संसदको अंक गणितमा जुटेका छन् । नेकपासँग १ सय ७४ सांसद छ । जसमा तत्कालिन एमालेको एक सय २१ र तत्कालिन माओवादीको ५३ जना सांसद छन् ।

१ सय २१ मध्ये ओली समूहका ७८ सांसद मात्रै छन् भने बाँकी ४३ जना नेपाल, खनाल र गौतम समुहका सांसद छन् । संसदीय दलमा बहुमत कायम गर्न ८८ सांसद चाहिन्छ । यसो हुँदा ओलीलाई १० जना सांसद अपुग हुन्छन् । त्यही १० सांसद पुर्याउँन ओलीले दाहाल, नेपाल, खनाल र गौतम निकटका सांसदलाई फकाएर आफ्नो पक्षमा ल्याउँने प्रयास गरिरहेका छन् ।

संसदीय दलमा बहुमत पुर्याउन सके प्रधानमन्त्री पद जोगाउन सकिने भएकाले ओलीले शुरमा बहुमत पुर्याउने अंकगणितमा लागेका हुन् । र केही पद दिएर नेपाल र दाहालबीच दुरी बढाउने दोस्रो रणनीति ओलीको रहेको छ ।

टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायतका नेताहरुसँग ओलीले छलफल गरेको स्रोतको दाबी छ । ओलीले यि सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् ।

नेकपाको सचिवालय ९ सदस्यीय छ । अहिलेसम्म नेकपा सचिवालय निर्णयकै आधारमा चलिरहेको छ । जहाँ प्रधानमन्त्री ओली निकै कमजोर छन् । ९ मध्ये आफूसहित ओलीसँग तीन मत मात्र छ ।

उनलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले मात्र साथ दिएका छन् । अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव विष्णु पौडेल एक ठाउँमा छन् । महासचिव कहिले दाहाल–नेपाल समुहमा त कहिले ओली पक्षमा समेत देखिने गरेका छन् ।

सचिवालयपछि नेकपाको शक्तिशाली कमिटी स्थायी कमिटी हो । ४५ सदस्यीय स्थायी कमिटीमा ओलीसँग एक तिहाइ मत पनि छैन । ओलीसँग स्थायी आफूसहित ११ जना छन् भने दाहालसँग १७ र नेपालसंग १५ जना छन् ।

अग्नि सापकोटा सभामुख बनेकोले एक स्थान रिक्त छ । स्थायी समितिमा दाहाल र नेपाल मिल्दा ओली निकै कमजोर देखिएको प्रष्टै देखिन्छ । स्थायी समितिमा दाहाल पहिलो नेपाल दोस्रो र ओली तेस्रो स्थानमा छन् ।

खासै क्रियाशिल नभएपनि विधिविधान मान्ने हो भने केन्द्रीय समिति महाधिवेशन नहुँदासम्मको अवस्थामा नेकपाको सबैभन्दा शक्तिशालि निकाय हो । तर, विवाद बढ्दै गए सबै कुरा केन्द्रीय समितिमा लैजानुपर्ने हुन्छ । यस्तो अवस्थामा यसले आफ्नो शक्ति देखाउन सक्छ । तर, केन्द्रीय समितिमा पनि ओलीको अवस्था कमजोर छ ।

चार सय ४७ सदस्यीय केन्द्रीय समितिमा ओलीको पक्षमा एक सय ४० जना छन् । त्यस्तै केन्द्रीय समितिमा पनि दाहालसँग सबैभन्दा धेरै १ सय ८३, वरिष्ठ नेता नेपालका पक्षमा १ सय १४ जना छन् । केन्द्रीय समितिमा पनि दाहाल र नेपाल मिल्दा ओली कमजोर देखिएका छन् ।

सोमबार नेकपा वरिष्ठ नेता नेपालले ओली निकटका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा गर्नुपर्ने सुझाव दिएपछि ओलीले आफ्नो पक्षमा बहुमत पुर्याउने रणनीतिमा जुटेका हुन् ।

ओली निकट मानिने उपप्रधान एवं रक्षा मन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटीका सदस्य एवं परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, र महासचिव विष्णु पौडेलसँग वरिष्ठ नेता नेपालसहित स्थायी कमिटीका सदस्यहरु भिम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तका बीच नेकपामा देखिएको विवाद समाधान गर्न छलफल भएको थियो ।

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै छोड्नुपर्ने दिएको सुझावमा नेकपा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल, उपाध्यक्ष गौतम लगायत नेताहरुको समेत समर्थन रहेको छ ।

पछिल्लो समय सरकारले दुई अध्यादेश जारी र खारेज गरेपछि नेकपामा विवाद बढ्दै गएको छ । स्थायी कमिटीका २० भन्दा बढी सदस्यले नेकपा अध्यक्षद्वय ओली र दाहाल लिखित रुपमै निवेदन दिएर बैठकको माग गरिसकेका छन् ।

सरकार र पार्टी सञ्चालनमा ओलीले मनोमानी गरेको आरोप लगाउँदै त्यस विषयमा बैठकमा छलफल गर्नुपर्ने आवाज पार्टी भित्र उठ्दै आएको छ । दाहाल र नेपाल पक्षले बैठक बस्नुपर्ने माग गरिरहेका छन भने ओलीले बैठक छल्न खोजिरहेका छन् ।

यसैबीच ओलीले आफू निकटका सांसद र स्थायी कमिटीका सदस्यहरुलाई काठमाडौं बोलाएका छन् । जतिखेर पनि बैठक बस्न सक्ने भएकाले उपत्यका बाहिर रहेका नेतालाई काठमाडौं आउँन उनले निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्