धनगढी प्रिमियर लिग : वर्षाका कारण शनिबार खेल नहुने



धनगढी : धनगढी प्रिमियर लिग (डीपीएल)मा भोली हुने उद्घाटन खेल स्थगित गरिएको छ । लगातारको वर्षाका कारण विराटनगर किंग्स र धनगढी स्टार्सबीचको उद्घाटन खेल स्थगित गरिएको हो । शनिबारको खेलको बारेमा शुक्रबार साँझ बस्ने टीमहरुको बैठकबाट टुङगाइने छ ।

 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त प्रतियोगितामा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ ।

 

उपाधि विजेताले ३० लाख रुपैयाँ हात पार्ने प्रतियोगीताको पहिलो खेल करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्स र सोमपाल कामीको धनगढी स्टार्सबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगीताको उपविजेताले १२ लाख रुपैँया हात पार्नेछ । यस्तै, तेस्रो हुनेले ४ लाख र चौंथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

 

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), प्रत्येक खेलका म्यान अफ द म्याचलाई १५ हजार, म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

 

टी-२० को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एकआपसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्