कोरोनाभाइरसको नियन्त्रणमा प्रसाई सक्रिय



सर्लाही : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण एवं रोकथामका लागि जारी लकडाउन एक महिनाभन्दा बढी भयो । विश्वव्यापी रुपमा फैलिइएको कोरोना संक्रमण र मृत्युको संख्या हेर्दा नेपालमा सरकारले नियन्त्रणका लागि गरेको प्रयास सफल भएको मान्नुपर्छ ।

कोरोनाभाइरसको संक्रमण संख्याका साथै मृत्युको संख्या नेपालमा त्यती देखिदैन् । तर संघीय सरकार अध्यादेश सहित बिभिन्न काण्डका कारण नेपाली नागरिक माझ आफ्नो लोकप्रियता गुमाउँदै गईरहेको भए पनि स्थानीय सरकारको कामले सर्वसधारण केही भए पनि राहत महशुस गरेका छन् ।

कोरोना नियन्त्रणको लागि नेपालका हरेक प्रदेशका नगर प्रमुखहरूले खेलेको भूमिकालाई पनि बिर्सिन सकिँदैन । यसरी कोरोना नियन्त्रण गर्ने काममा दक्षताका साथ कार्य सम्पादन गर्दै सफलता हात पार्न सफल व्यक्तिहरूको नाम लिँदा गणेश प्रसाईँको नाम अग्र पङ्क्तिमा आउने गरेको छ । प्रसाईँ हाल प्रदेश–२ अन्तर्गत हरिवन नगरपालिकामा नगर प्रमुख रहेका छन् । उनको कामको अहिले चौतर्फी रुपमा चर्चा भईरहेको छ ।

व्यक्तिगत जीवनलाई भुलेर आफ्नो ज्यानको कुनै पर्वाह नगरी कोरोना भाइरस विरुद्धको अभियानमा निरन्तर खटेका प्रसाईँको काम साच्चैनै प्रशंसनीय छ । उनी नेपाल सरकारले पहिलो चरणमा अपनाएको सुरक्षा सतर्कताको समय देखी नै त्यसको कार्यान्वयन पक्ष र संक्रमणबाट बच्न अपनाउनु पर्ने सतर्कताको बारेमा नगरवासीलाई सचेत गराउन गाउँ–गाउँमा पुगेका थिए ।

जनताहरूको आधारभूत स्वास्थ्यको ग्यारेन्टी गर्नु र संक्रमणबाट बचाउनु आफ्नो जिम्मेवारी भएको नगर प्रमुख प्रसाईँ बताउँछन् ।

उनले स्वास्थ्य कर्मीको लागी आवश्यक सुरक्षा सामग्री खरिद गरेर नगर भित्र स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई वितरण समेत गरेका छन् ।

त्यति मात्र नभई गाउँ–गाउँमा सुरक्षा गस्ती बढाएर आफू स्वयं गाउँ–गाउँमा गएर नागरिकलाई उच्च सुरक्षा सतर्कता अपनाएर बस्न समेत प्रेरित गरिरहेका छन् ।

हरिवन नगरपालिकामा कोरोना शङ्कास्पद व्यक्तिहरूलाई राख्न ३५ बेडको क्वारेन्टाइन पनि तयार गरिएको छ । जहाँ २४ सै घण्टा स्वास्थ्य सेवा तथा परामर्श प्रदान गर्न सक्ने गरी डाक्टर समेत उपलब्ध गराइएको छ ।

लकडाउनको समयमा बजारमा हुन सक्ने कालो बजारी सम्भावित कृत्रिम अभावलाई ध्यानमा राखेर बजारमा स्थानीय सुरक्षा निकायका प्रतिनिधि र नगरपालिकाको कर्मचारी सहित ४ जना रहने गरी सहायता कक्ष समेत सञ्चालन गरिएको छ। कोही व्यक्ति बाहिरबाट आएको भए तिनीहरूको स्वास्थ्य जाँच गराई आवश्यक सतर्कता अपनाएर घरमै सुरक्षित रूपमा छुट्टै बस्ने व्यवस्था समेत मिलाइएको छ ।

नगर भित्र बाहिरबाट आउने व्यक्तिहरूको पूर्ण रूपमा विवरण राख्नुका साथै निरन्तर स्वास्थ्य निगरानीमा राखिएको छ । नगर भित्र उच्च सुरक्षा सतर्कता अपनाउँदै यस संक्रमणबाट केही हद सम्म बच्न र गर्मियाममा पैदा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै प्रदेशमै पहिलो पटक नगर क्षेत्र भित्रका सम्पूर्ण वडा, बजार, गाउँ र घर–घरमा सङ्क्रमणबाट जोगिन कीटाणु नष्ट गर्ने क्लोरिन हाइड्रो अक्साइड सहितको डिसईन्फेक्सन औषधि समेत छर्किएको छ ।

मानिस संक्रमण विरुद्ध सङ्घर्षमा छन् भने निम्न वर्गीय जनताहरू संक्रमणसंगै भोकमरी सँग पनि संघर्ष गरिरहेका छन् । यही अवस्थालाई मध्यनजर गर्दै जनतालाई स्थानीय सरकार रहेको अनुभूति गराउन र केही हद सम्म राहत महसुस गराउन राहत वितरणको लागि नगरपालिकाद्वारा एउटा छुट्टै प्रकोप व्यवस्थापन विकास कोषको समेत गठन गरिएको छ ।

उक्त कोषमा नगर प्रमुख प्रसाईँसँगै अन्य सङ्घ संस्था, उद्योगी, व्यवसायी, व्यापारी, राजनीतिक दल, नागरिक समाज, देश तथा विदेशमा रहेका नेपालीहरू, सहयोगी संस्थाहरू र आम नगरवासीहरुले सहयोग गरिरहेका छन् । नगरपालिको अनुसार हाल सम्म लगभग रु ३८ लाख सहयोग रकम जुटिसकेको छ ।

लकडाउनको कारण कोही पनि आफ्ना नागरिक भोक-भोकै मर्ने अवस्था आउन नदिन लगभग ४५ सय घर दुरीलाई राहत वितरण तथा राजमार्गमा भोक-भोकै हिँडिरहेका बटुवाहरूलाई निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

नगरले गरेको राहत वितरणको अनुगमन गर्न सर्वदलीय अनुगमन समितिको गठन गरिनुको साथै नगर भित्रका धेरै मान्छेको आवत जावत हुने क्षेत्रमा हात धुने व्यवस्था समेत गरिएको छ ।

त्यस्तै नगरको ११ वटै वडामा दैनिक रूपमा स्वास्थ्य चेक जाँच गरी त्यसको विवरण प्रकाशन गर्नुका साथै यदि कसैलाई खाद्यान्नको अभाव भएमा वा उसले खरिद गर्न नपाएमा वडा अध्यक्षमार्फत जानकारी गराएमा नगरको तर्फबाट घरमै खाद्य सामाग्री ढुवानी गर्ने व्यवस्था प्रसाईँले गराएका छन् ।

कसैले स्वास्थ्य सम्बन्धी जानकारी लिनु प-यो वा कसैलाई स्वास्थ्यमा समस्या परेमा २४ सै घण्टा सेवा दिने गरी तुरुन्तै घरमा पुग्ने क्विक रेसपोन्स टिमको गठन गरी घर(घरमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने काम समेत भइरहेको देखिन्छ ।

कसैलाई उपचार पश्चात् पनि ज्वरो कम नभएमा नगरपालिकाले निःशुल्क रूपमा एम्बुलेन्स मार्फत सम्बन्धित हस्पिटलमा पठाउने व्यवस्था गरेको छ ।

अध्ययनका लागि यस नगरमा बस्दै आएका बाहिरका विद्यार्थीको लागि समेत नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै उनीहरूलाई राहतको व्यवस्था गरेको छ ।

साथै लकडाउनका कारणले गाडी नचल्दा काठकाडौंबाट घर आउन नपाएका आफ्ना नागरिकहरूलाई मेयर प्रसाईँले सर्लाहीदेखि काठमाडौँ तीन वटा स्कुल बस पठाएर १२० जनालाई निःशुल्क गन्तव्यसम्म पु-याएका छन ।

नेपालमा पनि यो रोगबाट सङ्क्रमित बिरामीहरूको सङ्ख्यामा लगातार वृद्धि भने भइरहेकाले नेपाल पनि कोरोनाको उच्च जोखिममा रहेको कुरामा कुनै दुई मत छैन । अझ नेपालको छिमेकी राष्ट्र भारतमा यस रोगको सङ्क्रमण दर तीव्र रूपमा बढ्दै जानु र नेपाल – भारत सीमा खुला हुनुले पनि भोलिको दिनमा नेपालको लागि थप जटिलता सृजना हुन सक्ने कुरालाई नकार्न सकिँदैन । तसर्थ भोलिको दिनमा आउन सक्ने चुनौतीहरूलाई मध्यनजर गर्दै नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्