५ दिनमा ४५ सयभन्दा बढीको उद्धार



सोलुखुम्बु:कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि ४ हजार ५०० भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ ।

विभिन्न निकायसँगको विशेष समन्वयमा उनीहरुलाई उद्धार गरिएको सांसद हेमकुमार राई (शुरवीर)ले जानकारी दिए । थुलुङदूधकोशी गाउँपालिकाले सबैभन्दा धेरै १ हजार १९८ जना र सबैभन्दा कम सोताङ गाउँपालिकाले २९९ जनाको उद्धार गरिएकोे छ ।

थुलुङदूधकोशी गाउँपालिका अध्यक्ष असीम राई आफै काठमाडौं पुगेर पालिकाभित्रका नागरिकलाई गाउँसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए ।

यस्तै लुदूधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पा र उपमेयर कल्पना राईसमेत काठमाडौंमा पुगेर ७९९ जनाको उद्धार गरेको नगरप्रवक्ता सारदामाया तामाङले जानकारी दिए ।
यस्तै जिल्लाको नेचासल्यानले ५९६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष डुफकुमार बाँस्तोलाले जानकारी दिए । गाउँपालिका अध्यक्ष आफै काठमाडौंमा गई उनीहरुको उद्धार गरेर ल्याएको गाउँपालिकाले जनाएको छ । माप्यदूधकोशी गाउँपालिकाले ५७० जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

काठमाडौंमा गठन गरेको सम्पर्क समितिमार्फत विवरण संकलन गरी उनीहरुलाई उद्धार गरिएको उनकोे भनाइ छ । जिल्लाको कोशीपारिको गाउँपालिका महाकुलुङले ४७६ जनाको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष सागर किराँतीले जानकारी दिए । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले ३२० जना र लिखु पिके गाउँपालिकाले करिब ३०० जनाको उद्धार गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

वैशाख १२ गतेदेखि जिल्लाका विभिन्न स्थानीय तहले उद्धार कार्य शुरु गरेका थिए । अहिले पहिलो चरणको उद्धार कार्य सकिएको सांसद राई (शुरवीर) को भनाइ छ । विषम परिस्थितिको सामना गर्नु सबैको कर्तव्य भएको भन्दै उनले १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्