‘मार्च १ पछि कोरोना संक्रमणका कारण विश्वभर दर्जनौँ पत्रकारको मृत्यु’



काठमाडौं: गएको दुई महिनामा कोरोना भाइरस (कोभिड-१९) बाट दर्जनौं पत्रकारको मृत्यु भएको एक प्रेस स्वतन्त्रताका लागि सक्रिय एक संगठनले शुक्रबार बताएको छ ।

संचारकर्मीहरूलाई प्रायः महामारीको समाचार संकलनका लागि जाँदा उचित संरक्षणको अभाव रहेको उक्त अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले जानकारी गराएको छ ।

आगामी आइतबार परेको विश्व प्रेस स्वतन्त्रता दिवसको अगाडि प्रेस अभियान (पीईसी) ले धेरै पत्रकारहरूले आफ्नो जीवनको पर्वाह नगरी समाचार संकलन गर्नुपर्दा यसबाट ठूलो संख्यामा पत्रकार संक्रमित हुनु परेको बताएको छ ।

पीईसीका अनुसार मार्च १ पछि मृत्यु भएका विश्वका विभिन्न २३ मुलुकका ५५ संचारकर्मीमा संक्रमण भेटिएको छ । यद्यपि उनीहरुको कामकै सिलसिलामा संक्रमण भएको पुष्टि भने नभएको पीईसीले जनाएको छ ।

‘पत्रकारहरूले समाचार संकलनका क्रममा अस्पतालमा जाँदा, वा डाक्टर, नर्स, राजनीतिक नेता, विशेषज्ञ, वैज्ञानिक, बिरामीहरूसँग अन्तर्वार्ता लिनुपर्दा उनीहरूलाई यस विश्वव्यापी महामारीका समय ठूलो जोखिम रहेको छ’, पीईसीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रकोपको शुरूमा कैयौँ देशहरुमा सामाजिक तथा शारीरिक दूरी कायम गर्ने, क्वारेन्टाइनमा बस्ने र मास्क लगाउने निर्देशन जस्तो ‘अनिवार्य सुरक्षात्मक उपाय’ लागू हुन नसकेको विज्ञप्तिमा बताइएको छ । पीईसीले भनेको छ, ‘यसरी पत्रकार बढी प्रभावित बन्ने मुलुकमा इक्वेडर अग्रस्थानमा रहेको छ । यहाँ कम्तिमा नौ जना पत्रकार भाइरसको सिकार बन्न पुगेका छन् । त्यस्तै संयुक्त राज्य अमेरिकामा आठ, ब्राजिलमा चार, बेलायतमा र स्पेनमा क्रमशः तीन जना मृत पत्रकारमा संक्रमणको पुष्टि भएको थियो ।’

विश्वव्यापी रूपमा संक्रमित ३२ लाखभन्दा बढीमा संक्रमित बनेको र २ लाख ३० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको यस महामारीलाई लेख्ने कतिपय मुलुकका संचारमाध्यम नै प्रशासनको तारो बन्ने गरेको संयुक्त राष्ट्रसंघका चेतावनीहरूलाई उल्लेख गर्दै यस संस्थाले बताएको छ ।

सेन्सरशिप, इन्टरनेट बन्द, मनमानीरूपमा पत्रकारहरूलाई हिरासतमा राख्ने, शारीरिक र मौखिक हमला, आपतकालीन कानून हालका हप्ताहरूमा प्रेस स्वतन्त्रतामा प्रतिबन्ध लगाउने अभ्यासहरू कतिपय मुलुकले गरेको भन्दै पीईसीले खेद व्यक्त गरेको छ ।

विश्वसनीय सार्वजनिक जानकारीको पहुँच पहिलेभन्दा बढी महामारीको समय महत्वपूर्ण रहने भएपनि प्रेस स्वतन्त्रतामाथि नै आक्रमण हुनु खास गरी चिन्ताको विषय भएको पीईसीले जनाएको छ । पीईसीले पारदर्शिता सर्वोपरी रहेको र यसको प्रयोगले स्वास्थ्य संकटमा नागरिकको जीवन बचाउन सकिनेमा जोड दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्