विकट गाउँमा राहत वितरण



लहान: कोभिड-१९ को जोखिम हुन नदिन लकडाउन जारी रहदा लहान नगरपालिकाको विकट उत्तरवर्ती गाउँका विपन्न तथा गरिब परिवारलाई एक दम्पतीले राहत वितरण गरेका छन् ।

लहानका महेश चौधरी र संगीता कर्माचार्यले वडा नं.१६ स्थित तरेगना, आरी दमाड़, भसुवा, डुमरे र देउराली गाउँका ती परिवारलाई आज राहत वितरण गरेका हुन् ।

विकट गाउँ भएकै कारण स्थानीय सरकारले हालसम्म राहत वितरण गर्न नसकेको जानकारीका आधारमा ती गाउँका १०० परिवारलाई राहत वितरण गरेको चौधरीले जानकारी दिए । यहाँस्थित एपोलो ॐ स्कूलका संचालक चौधरी र नेपाल महिला संघका केन्द्रीय सदस्य कर्माचार्यले प्रतिपरिवार चामल १० केजी, दाल एक केजी, मटर एक केजी, नुन एक केजी र आलु एक केजीका दरले राहत गरे ।

ती दम्पतीले लकडाउन भएको पहिलो सातादेखि नै लहानका विभिन्न स्थानमा दैनिक ज्याला मजदुरी गरी खाने अति विपन्न परिवारलाई राहत वितरण गर्दै आएका छन् । विपन्न परिवारलाई सिरहाको विष्णुपुर गाउँपालिकाले राहत वितरण गर्ने अभियानको शुरुआत गरेको छ ।

गाउँपालिकाले वडा नं.१ बाट राहत वितरण शुरु गरेको र पाँचवटै वडाका १ हजार ५०० विपन्न, मजदुर परिवारलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष जागेश्वर यादवले जानकारी दिए । प्रतिपरिवार २५ किलो चामल, २ किलो दाल, १ किलो नुन, १ लिटर खानेतेल, १ किलो चिनी र दुई वटा हात धुने साबुनको प्याकेट बनाएर वितरण गरिरहेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्